बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्ड–नेपालले निकाले केपी ओलीसँग फेरि मिल्ने यस्तो ‘आइडिया’

प्रचण्ड–नेपालले निकाले केपी ओलीसँग फेरि मिल्ने यस्तो ‘आइडिया’

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 10.1K
    SHARES

  • प्रचण्ड–नेपालले निकाले केपी ओलीसँग फेरि मिल्ने यस्तो ‘आइडिया’

    काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै मंगलवार देशैभर प्रदर्शन गरेको छ । 

    आन्दोलन परिचालन कमिटीको संयोजक समेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंसहित देशैभर विशाल प्रदर्शन भएको बताएका छन् ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको सो कदमलाई नेकपा प्रचण्ड–नेपाल समूहले असंवैधानिक भन्दै विरोध गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल सहितका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

    काठमाडौंसहित देशैभर एकैदिन प्रदर्शन गरेको नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको प्रस्ताव प्रधानमन्त्री ओलीले फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेकपा २ समूहमा विभाजित भएको छ । एकले अर्को पक्षलाई कारबाही गर्दै आफू नै आधिकारिक रहेको दावी गरिएका छन् ।

    दुबै समूहका नेताहरूले एकअर्काका विरुद्धमा गम्भीर आरोप लगाउँदै आलोचना एवं विरोध गरिरहेका छन् । मंगलबार दाहाल–नेपाल समूहको नेकपाले आयोजना गरेको प्रदर्शनपश्चात् आयोजित सभामा प्रधानमन्त्री ओलीको चर्को रूपमा आलोचना भएको छ ।

    प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शनलाई थप सशक्त बनाउँदै जाने स्थायी कमिटीका सदस्य योगेश भट्टराईले बताएका छन् ।

    प्रतिनिधिसभा विघटनसँगै २ समूहमा विभाजित नेकपाको एकता कायम राख्न प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुपर्ने ‘आइडिया’ नेकपा अध्यक्ष प्रचण्डले निकालेका छन् ।

    काठमाडौं भृकुटीमण्डपमा आयोजित सभालाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताकै पक्षमा आफूहरू रहेको बताउँदै उनले त्यसका लागि प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

    ‘अझै केही बिग्रेको छैन, प्रधानमन्त्रीले आफ्नो असंवैधानिक कदम फिर्ता लिएमा पार्टी एकता कायम राख्न सकिन्छ,’ प्रचण्डले भने, ‘संसद् विघटनको प्रस्ताव फिर्ता लिए प्रधानमन्त्रीलाई साथ दिन आफू अझै तयार नै रहेको छु ।’

    प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव फिर्ता लिएमा पार्टी एकता कायम गर्दै सहकार्य गरेरै अगाडि बढ्न सक्ने प्रचण्डले बताए । अब चुनाव भएर आउने प्रधानमन्त्रीले समेत यस्तै संसद् विघटन गर्न सक्ने बताउँदै उनले संविधानको कार्यान्वयन गर्न सुझाव दिए । सरकारले घोषणा गरेको बैशाखमा चुनाव नहुने भन्दै उनले ओलीको कदमले मुलुक धरापमा परेको बताए ।

    सोही सभालाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुलना गर्दै दुवैले जनतालाई दुःख दिएको आरोप लगाए । ‘ओलीजी, तपाईं प्रधानमन्त्री भएर जनतालाई सुख कम दुःख बढी दिनुभयो,’ उनले भने, ‘प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्रबीच कुनै भिन्नतै छैन । दुवैले जनतालाई दुःख दिए । अब यो सरकार धेरै दिन रहँदैन ।’

    अहिलेको समयमा नेपाली जनता दास बन्न र प्रतिगमनको पक्षमा नरहेको बताउँदै उनले प्रतिनिधिसभा जसरी भए पनि पुनःस्थापना हुने बताए । ससंद् विघटन असंवैधानिक कदम भएको बताउँदै उनले प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक प्रवृत्ति नभएको टिप्पणी गरे ।

    नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बहुमत केन्द्रीय सदस्यहरू आफूहरूसँगै रहेकाले नेकपा, सूर्य चिह्न, झन्डालगायत आफूहरूसँगै रहने बताए । प्रधानमन्त्री भएपछि ओलीले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको उनले ओलीमाथि आरोप लगाए ।

    ‘ओलीले पार्टीलाई भर्‍याङ मात्रै बनाउनुभयो । पार्टीका नीति बिर्सनुभयो । कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्याँस ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उनले भने, ‘वास्तवमा उहाँले तीन वर्ष त गफै गरेर बिताउनुभयो ।’

    नेकपालाई भर्‍याङ बनाएर ओली सत्तामा पुगेको बताउँदै उनले प्रधानमन्त्री भएकै दिनबाट पार्टी बिर्सिएको आरोप लगाए । पार्टी घोषणापत्र अनुसार सरकारले काम नगरेको भन्दै आक्रोश व्यक्त गर्दै उनले गफै गरेर देश नचल्ने बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend