बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली नेकपाको अध्यक्षमा प्रचण्ड कायमै ! यस्तो छ बदर गर्ने निर्णय

ओली नेकपाको अध्यक्षमा प्रचण्ड कायमै ! यस्तो छ बदर गर्ने निर्णय

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 5.8K
    SHARES

  • ओली नेकपाको अध्यक्षमा प्रचण्ड कायमै ! यस्तो छ बदर गर्ने निर्णय

    काठमाडौं – विभाजित अवस्थामा पुगेको नेकपाका दुवै समूहको बिहीवार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले फरक–फरक निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहको बालुवाटारमा बसेको बैठकले आगामी बैशाखमा तोकिएको निर्वाचनलाई पूर्णरुपमा सफल बनाउने गरी आफ्ना सबै जनवर्गीय संगठन र कमिटीलाई निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ ।

    तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको बैठकले भने प्रतिनिधिसभा विघटन र निर्वाचनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

    नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बिहीवार बालुवाटारमा बसेको सो बैठकले अर्का अध्यक्ष प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय समेत गरेको छ । प्रचण्डले केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार पार्टीलाई चलायमान बनाउन नसकेको भन्दै केन्द्रीय कमिटीले उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । तर दाहालको अन्य जिम्मेवारी भने यथावत नै राखिएको छ ।

    ‘उहाँ (प्रचण्ड) लाई अध्यक्षबाट हटाइएको छैन तर केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारी बहन गर्न नसकेकाले उहाँको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरिएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।

    बैठकले विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीका केही नेताबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी तथा षड्यन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको बाध्यात्मक कदमका रूपमा चित्रण गरेको छ ।

    बैठकले बहुमतप्राप्त दलको निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयको छिनोफानो जनताको अभिमतबाट खोज्नु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहर समेत गरेको छ । ओली नेकपाको बैठकले जनजीविकाका विभिन्न सवालमा समेत निर्णय गरेको छ ।

    ओली समूहको बैठकले नेताहरूको कार्यविभाजन गर्ने निर्णय गरेको छ । जसअनुसार प्रदेश १ इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ सत्यनारायण मण्डल, बाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

    जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी र उपत्यकाको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । बैठकले प्रथम अध्यक्ष ओलीको मात्रै हस्ताक्षर चल्ने गरी विधान संशोधन गर्ने निर्णय गर्दै निर्वाचन आयोगमा दर्ता गरेको छ ।

    स्रोतका अनुसार बिहीवार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने गरी विधान संशोधन गरिएको छ । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।

    केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरे अनुसार १ हजार ११९ सदस्यीय कायम गरिएको छ । ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी गराइसकेको छ । प्रचण्ड–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो ।

    प्रतिक्रान्तिलाई परास्त गर्न प्रधानमन्त्रीलाई साथ : बादल

    नेकपा २ समूहमा विभाजित भएसँगै कुनै समूहमा नलागेका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्ततः ओली समूहमै फर्किएका छन् । तर नेकपा उपाध्यक्ष रहेका बामदेव गौतम अहिलेसम्म कुनै समूहको बैठकमा सहभागी भएका छैनन् ।

    ओली समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता थापाले प्रचण्ड–नेपाल समूहतर्फ संकेत गर्दै नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् । मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन प्रधानमन्त्री ओलीलाई आफूले साथ दिएको बताए ।

    प्रतिनिधि सभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताउँदै उनले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताए । दाहाल–नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको आरोप थापाले लगाएका छन् ।

    प्रतिनिधि सभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताउँदै थापाले निर्वाचनमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने आवश्यकता औंल्याए ।

    यसअघि थापालाई अध्यक्षद्वय दाहाल र नेपालले आफ्नो समूहको बैठकमा सहभागी हुन आग्रह गर्दै आएको भए पनि उनी अन्ततः ओली समूहमै फर्किए ।

    दाहाल–नेपाल समूहद्वारा आन्दोलनको घोषणा

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले संसद् विघटनका विरुद्धमा आन्दोलनको घोषणा गरेको छ ।

    बिहीवार बबरमहलमा बसेको बैठकले आगामी १४ पुसमा देशैभरि प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य श्रीप्रसाद साहका अनुसार पुस ११ गते ७ वटै प्रदेश कमिटीको बैठक एकैदिन बस्ने निर्णय समेत गरेको छ ।

    पुस १२ गते ७७ वटै जिल्लामा जिल्ला भेला आयोजनाका साथै सोही दिन सबै जिल्लामा वर्तमान अवस्था र कार्यभारका विषयमा प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत प्रचण्ड–नेपाल समूहको बैठकले गरेको छ ।

    शुक्रवार बिहान साढे ९ बजे माइतीघर मण्डलामा सबै केन्द्रीय सदस्य भेला भई १० बजे संयुक्त पत्रसहित निर्वाचन आयोग जाने निर्णय गरिएको छ । शुक्रवार नै दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    पुस २० गतेसम्म सबै नगर र गाउँ कमिटीका बैठक र भेला गर्ने तथा पुस २५ गतेसम्म सबै वडामा बैठक र भेला गर्ने निर्णय भएको श्रेष्ठले बताए । पुस १४ गतेभित्र जनसंगठनका बैठक गर्दै दोस्रो चरणको आन्दोलन तय गर्ने जनाइएको छ ।

    नेकपा केन्द्रीय कमिटीको तेस्रो बैठक भनिएको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २ हजार ५०१ सदस्यीय आन्दोलन परिचालन समितिसमेत बनाएको छ । राजधानी दैनिकमा खबर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend