आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अन्ततः प्रचण्ड–बादल ‘डिभोर्स’ : प्रचण्डको पूर्व माओवादीभित्र खैलाबैला, केपी ओली मख्ख !

अन्ततः प्रचण्ड–बादल ‘डिभोर्स’ : प्रचण्डको पूर्व माओवादीभित्र खैलाबैला, केपी ओली मख्ख !

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 6.8K
    SHARES

  • अन्ततः प्रचण्ड–बादल ‘डिभोर्स’ : प्रचण्डको पूर्व माओवादीभित्र खैलाबैला, केपी ओली मख्ख !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन आएपनि सचिवालयका २ नेता उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कतै खुलेका थिएनन् ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले गौतम र थापालाई आआफूतिर तान्न निकै दौडधुप गरेका थिए । यद्यपि मन्त्री थापा बुधवारदेखि प्रधानमन्त्री ओलीका पक्षमा खुलेका छन् ।

    थापाले बुधवार बिहान ओलीसँगको छलफलपछि आफू ओली समूहतिर लाग्ने निर्णय लिएका हुन् । पूर्व माओवादी धारका थापाले यससँगै दाहालसँगको लामो राजनीतिक सहयात्रा छाडेका छन् । यसले शीर्ष नेताहरू तहमै विगतको पार्टीको धार पनि भत्किएको छ ।

    प्रचण्डसँग एमाले धारका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेता छन् । ओलीतिर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायत पूर्व माओवादी धारका नेता छन् । 

    मन्त्री थापाले बुधवारैै आफू ओलीतिर लाग्ने निर्णयमा पुगेको निकटका नेताहरुलाई सुनाएका थिए । ओलीले उनलाई आफूपछि दोस्रो नम्बरको नेता बनाउने वचन दिएको थापाको सचिवालयले जनाएको छ । 

    बादलले बुधवारै दाहालसँग खुमलटारमा भेट गरेका थिए । दिउँसो बानेश्वरमा पुनः दाहाल सहितका नेतासँग छलफल गरेका थिए । तर अन्तिममा उनले ओलीतिरै आफूलाई खुलाउने निर्णय गरेका हुन् ।

    एकता गर्दा नेकपा केन्द्रीय समितिमा थापा पक्षका ३४ केन्द्रीय सदस्य थिए । त्यसमध्ये थापासहित ५ नम्बर प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी, राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ र केन्द्रीय सदस्य दावा लामा दुवैतिरका भेला र बैठकमा नगई बसेका थिए ।

    थापाले बुधवार ती ३ नेतालाई मन्त्री क्वार्टरमै बोलाएर आफू ओलीतिर खुलेको र ओलीलाई वचन दिएर आएको जानकारी गराएका थिए । थापालाई ओलीतिर नखुल्न उनी पक्षका नेताहरूको चर्काे दबाब थियो । तर ओलीतिरै खुलेपछि भने उनलाई ३ नेताले पनि साथ नदिने संकेत गरेका थिए । त्यसपछि थापा निवासमा बिदाइ भेट गरेर उनीहरू निस्केको स्रोतले बताएको छ ।

    उपाध्यक्ष गौतम भने अझै कतै खुलेका छैनन् । उनले अझै केही दिन तटस्थताकै नीति अख्तियार गर्ने र केही दिनपछि मात्र निर्णय लिने बताइरहेका छन् । बिहीवारको दुवै पक्षको बैठकमा पनि गौतम सहभागी नहुने भएका छन् । उनले अझै निर्णय नगरिसकेको उनीनिकट नेता केशवलाल श्रेष्ठले बताए । श्रेष्ठ भने प्रचण्ड–नेपाल खेमामा लागेका छन् ।

    ‘वामदेव कमरेडले अझै म सोचविचार गर्दैछु भन्नुभएको छ । बिहीवार हुने दुवै पक्षका केन्द्रीय समिति बैठकमा पनि उहाँले सहभागिता नजनाउने बताउनुभएको छ,’ श्रेष्ठले भने ।

    ओली पक्षले देशभरका नेता–कार्यकर्तालाई आफूतिरै तान्न, संगठित बनाउन सातै प्रदेशमा प्रशिक्षणात्मक अभियान चलाउने निर्णय गरेको छ । उसले त्यसका लागि केन्द्रीय वक्ता पनि तय गरेको छ । बिहीवार बस्ने बैठकबाट संगठन विस्तार र निर्वाचन तयारीको एजेन्डामा केन्द्रित रही छलफल हुने प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

    ‘प्रधानमन्त्री तथा अध्यक्षले निर्देशनात्मक प्रशिक्षण दिनुहुन्छ । सातवटै प्रदेशमा प्रशिक्षण चलाउने हुन्छ । संगठन विस्तार र निर्वाचनको तयारीमा जुट्ने गरी अगाडि जाने हुन्छ,’ ज्ञवालीले भने ।

    ओली पक्षले बुधवार पनि सातै प्रदेशबाट केन्द्रीय समितिमा मनोनीत नेताहरूलाई कार्यगत प्रशिक्षण राजधानीका विभिन्न पार्टी प्यालेसमा दिएको थियो । १ नम्बर प्रदेशको भेला बत्तिसपुतली, २ नम्बर प्रदेशको अनामनगर, बागमती प्रदेशको तीनकुने, गण्डकी प्रदेशको पुल्चोक, लुम्बिनी प्रदेशको नयाँ बानेश्वर, कर्णाली प्रदेशको सुकेधारा र सुदूरपश्चिम प्रदेशको कार्निभल रेस्टुरेन्टमा कार्यगत प्रशिक्षण ओली पक्षले आयोजना गरेको थियो ।

    १ नम्बर प्रदेशको भेलामा सुवासचन्द्र नेम्बाङ, प्रदीप ज्ञवाली, मणि थापा र डा. शिवमाया तुम्बाहाङ्फे, २ नम्बर प्रदेशको भेलामा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, बागमतीमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, गण्डकीमा टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनीमा विष्णु पौडेल, शंकर पोखरेल, मणि थापा र गोमा देवकोटाले प्रशिक्षण दिएका थिए ।

    कर्णाली प्रदेशको भेलामा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे खटिएका थिए । 

    भेलामा निर्वाचनको तयारीमा जुट्ने, संगठन विस्तारमा लाग्ने गरी प्रशिक्षण दिइएको थियो । पार्टीमा विभाजनको अवस्था आउनुमा प्रचण्ड र नेपाल बढी जिम्मेवार रहेको नेताहरूले बताएका थिए । सरकारलाई घेराबन्दीमा राखेर काम गर्न नदिएको बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन भएको विषय जनतालाई बुझाएर निर्वाचनको तयारी गर्नुपर्ने नेताहरूको भनाइ रहेको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend