काठमाडौं – कुनै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ छाडेर तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि कांग्रेसको शरणमा पुगेका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दै निर्वाचनको घोषणा गरेपछि त्यसविरुद्ध एकजुट हुन प्रचण्ड कांग्रेसको शरणमा पुगेका हुन् ।
सत्तारुढ नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटनप्रति संयुक्त रूपमा विरोध गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । अब प्रधानमन्त्री ओली एक्लै परेका छन् ।
‘संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुबै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक हो । त्यसको विरोध गर्ने र विरोधमा एकतावद्ध भएर जाने, सबै उपायहरूद्वारा त्यसको विरोध गर्ने निर्णय भएको छ,’ नेकपा प्रवक्ता श्रेष्ठले भने ।
बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आईतबारको अनौपचारिक बैठकमा सरकारको कदमविरुद्ध संयुक्त रूपमा ३ दल विरोधमा उत्रन सहमत भएका बताएका छन् । पौडेलले सोमवार सर्वदलीय बैठक आह्वान गरी विरोधका विषय ठोस निर्णय लिइने जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार ३ दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेको हो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ, देव गुरुङ र जनार्दन शर्मा लगायत सहभागी भएका थिए ।
कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी भएका थिए । जसपा नेता बाबुराम भट्टराई र राजेन्द्र महतो पनि बैठकमा सहभागी भएक थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।