बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डविरुद्ध यी हुन् केपी ओलीका ३ तुरुप !

प्रचण्डविरुद्ध यी हुन् केपी ओलीका ३ तुरुप !

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 4.3K
    SHARES

  • प्रचण्डविरुद्ध यी हुन् केपी ओलीका ३ तुरुप !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिवार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा आपसी सम्बन्ध झनै बिग्रेको छ ।

    कात्तिक २८ गतेको सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न र सामूहिक दस्तावेज लेख्न गरेको ओलीको आग्रहलाई प्रचण्डले अस्वीकार गरेसँग दुवै अध्यक्षबीचको सम्बन्ध झन् बिग्रेको हो ।  

    २ अध्यक्षबीचको छलफल फलदायी नभएपछि प्रधानमन्त्री ओलीले ३ तुरुपसहित रणनीति शुरू गरेका छन् ।

    नेकपा उच्च स्रोतका अनुसार पहिलो कदमस्वरूप उनले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई साझा राजनीतिक प्रतिवेदन लेख्न आग्रह गरेका छन् । दोस्रोमा पूर्व एमालेका तर्फबाट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पहिलो अध्यक्षका रूपमा अघि सार्ने र तेस्रोमा ओली, दाहाल दुवैका प्रतिवेदनलाई सन्दर्भ सामग्रीको रूपमा स्वीकार गरी दुवै अध्यक्षका तर्फबाट स्थायी कमिटी बैठकमा सामूहिक प्रतिवेदन पेश गर्ने ओलीको योजना छ ।  

    ओलीले थापालाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गरिसकेका छन् । ओलीले प्रचण्डलाई कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न आग्रह गरेका थिए तर प्रचण्डले अब सकिन्न, त्यो फिर्ता हुँदैन भनेपछि प्रधानमन्त्रीले थापालाई उनकै सरकारी निवास पुगेर साझा प्रतिवेदन लेखी स्थायी कमिटीमा पेश गर्न आग्रह गरेको स्रोतको दाबी छ ।

    प्रधानमन्त्रीले गृहमन्त्रीलाई सबैलाई मान्य हुने प्रतिवेदन लेख्न आग्रह गरेका हुन् । ‘कोही कसैको पक्षमा लाग्नुपर्दैन, तपाईं पनि सचिवालय सदस्य हो, पार्टी एकतालाई कायम राख्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ,’ प्रधानमन्त्रीले थापासँग गरेको आग्रह उद्धृत गर्दै स्रोतले भन्यो ।

    पूर्व माओवादी समूहका केही नेता समेत दुवै अध्यक्षको प्रतिवेदन विस्थापन गरेर साझा प्रतिवेदन ल्याउनुपर्ने पक्षमा रहेको र गौतमलाई अध्यक्ष बनाउँदा खासै विवाद नहुने सुझाव ओलीलाई दिएका कारण ओली पक्षका केही नेता यसको गृहकार्यमा जुटेको स्रोतको दाबी छ । शनिवार बिहान प्रचण्ड निवासमा भएको छलफलमा बामदेव गौतम पनि सहभागी थिए ।

    गौतमले गुट भेलामा सहभागी नहुने तर सामूहिक छलफलमा सहभागी हुने बताउँदै आएका छन् । ‘२ अध्यक्षबीच छलफल भइरहेका बेला उपाध्यक्ष गौतमलाई पनि बोलाइएको थियो, उहाँसँग पनि केही बेर कुराकानी भयो तर कुराकानी लाभदायक भएन,’ खुमलटारनिकट स्रोतले भन्यो, ‘उपाध्यक्षले पनि २ अध्यक्ष मिल्नुस्, पार्टी एकता जोगाउनुस् तर अलि बढी जिम्मेवार प्रधानमन्त्री बन्नुस् भन्नुभयो । कुराकानी त भए तर के के विषयहरू मिलेका छैनन् भन्ने बारेमा चाहिँ छलफल नै हुँदैन ।’

    बिहान करीब १० बजे खुमलटार पुगेका ओली २ घण्टापछि बाहिरिएका थिए । खुमलटारमा माधव नेपालको प्रवेशपछि ओली बाहिरिएका हुन् ।  

    प्रधानमन्त्री ओली खुमलटारबाट सिधै मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए । पुल्चोकमा गृहमन्त्री थापासँग केहीबेर कुराकानी गरेका ओलीले सबैलाई मान्य हुने साझा प्रतिवेदन ल्याएर पार्टी एकतालाई कायम राख्न आग्रह गरेको स्रोतको दाबी छ । ओली र थापाले कुराकानी गरिरहेका बेला पुल्चोकमा भूमिसुधारमन्त्री पदमा अर्याल, भौतिक योजना मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि पुगेका थिए । ओलीले प्रचण्डसँगको कुराकानी फलदायी नभएको बताएका थिए ।

    ‘आजको भेट खास उपलब्धिमूलक भएको छैन । स्थायी कमिटीको बैठक चलिरहेको छ । समस्याको समाधान खोज्ने थलो एउटा त्यो पनि हो तर पार्टी सहमतिमा सञ्चालन गर्ने भन्ने उल्लेख छ त्यो सहमति उल्लंघन हुँदै आएको छ,’ ओलीले त्यसबेला भने ।

    प्रचण्ड–नेपाल समूह ओलीलाई एक पद छोडाउने रणनीतिमा लागेका छन् । तर ओली दुवै पद छाड्ने मनस्थितिमा छैनन् ।  

    ओली शनिवार दिनभरि नै भेटघाटमा व्यस्त रहे । ‘खुमलटारबाट निस्केपछि उहाँ दिनभरजसो व्यस्त हुनुभयो । पार्टी एकतालाई जोगाउन कसरी सकिन्छ भन्ने विषयमा निकै चिन्तित हुनुभयो र गृहमन्त्री तथा अन्य नेतासँगको छलफलमा रहनुभयो,’ बालुवाटारनिकट स्रोतले भन्यो ।

    दिनभर नेताहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । उनले दिनभर भएको घटनाक्रमबारे भण्डारीलाई ब्रिफिङ गरेका थिए ।  

    २ अध्यक्षबीचको कुराकानी नमिलेको थाहा पाएपछि महासचिव विष्णु पौडेलको निवास भैंसेपाटीमा दिउँसो ३ः३० बजेदेखि ३ नेताबीच अढाई घण्टा छलफल भएको थियो । पार्टीका स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र शंकर पोखरेल महासचिव पौडेल निवास पुगेका थिए ।  

    नेकपा उच्च स्रोतका अनुसार पार्टी फुटको संघारमा पुगेपछि यी ३ नेता केही दिनदेखि सक्रिय रहेका छन् । शनिवार दिउँसो नेताहरूबीच पार्टी सञ्चालनको रोडम्याप र नेताहरूको व्यवस्थापनका विषयमा समेत गम्भीर ढंगले छलफल भएको थियो । नेताहरूलाई कहाँ कसरी व्यवस्थापन गर्ने र कसलाई कुन–कुन जिम्मेवारीमा राखेर अघि बढ्ने तथा महाधिवेशनलाई व्यवस्थित रूपमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको स्रोतको दाबी छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend