काठमाडौं – नेकपा स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने वचन दिएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली चुइक्क पनि बोलेनन् ।
बैठकले विवादास्पद संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्ने अपेक्षा गरिए पनि मन्त्रिपरिषद्मा त्यसको कुनै संकेत नदेखिएको एक मन्त्रीले बताए ।
नेकपाको स्थायी कमिटीको बुधवारको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि ओलीले त्यसलाई सरकारी बैठकमा स्थान दिएनन् । यसरी पार्टीको निर्णयलाई ओलीलाई अटेरी गर्दा अब नेकपा विवाद झन् चर्किने देखिएको छ ।
आज बिहीबारको बैठकमा अध्यादेशबारे नै छलफल र आवश्यक निर्णय हुने अपेक्षा गरिएको भए पनि छलफल नभएको एक मन्त्रीले बताए । ‘मंगलवारको बैठकमा पनि कुनै सुइँको नदिइकन अध्यादेश राष्ट्रपतिबाट जारी गराइयो । आजको बैठकमा पनि केही छलफल भएन । अस्ती कुनै सुइँकै नदिएजस्तै आज पनि राष्ट्रपतिबाट जारी भएपछि मात्रै थाहा पाइएला !’ ती मन्त्रीले भने ।
एकलौटी निर्णय गर्न मिल्ने गरी प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश विवादित भएपछि ओलीले फिर्ता लिने प्रतिवद्धता जाहेर गरेका थिए । बुधबारको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिएपनि ओलीलाई आनाकानी गरिरहेका छन् । बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ओलीले राष्ट्रपति भण्डारीलाई भेटेपछि मात्रै अध्यादेश फिर्ता लिने अडान लिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समेत अध्यादेशको विरोध गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।