काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आज आईतवारका लागि बोलाएको संवैधानिक परिषद् बैठक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालेको चालका कारण संकटमा परेको छ ।
पूर्व माओवादी पक्षका नेकपा नेता रहेका सभामुख अग्निप्रसाद सापकोटालाई संवैधानिक परिषद्को बैठकमा नजान प्रचण्डले इशारा गरेपछि बैठक संकटमा परेको हो । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समेत नजाने निर्णय गरिसकेका छन् ।
प्रचण्डको चाल अनुसार सभामुख सापकोटा बैठकमा नजाने सूचना पाएपछि देउवाले आफू समेत अनुपस्थित हुने जानकारी प्रधानमन्त्री ओलीलाई गराएका छन् । परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।
‘सभामुख नै नआउने भएपछि गणपूरक संख्या पुग्दैन,’ कांग्रेस स्रोतले भन्यो, ‘अनि, प्रमुख प्रतिपक्षी दलका नेता जानुको के अर्थ ?’ संवैधानिक नियुक्तिका विषयमा प्रधानमन्त्रीसँग ठोस समझदारी नभएकाले परिषद् बैठकमा जानुको औचित्य नरहेको देउवानिकट एक नेताले जनाएका छन् ।
संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । उपसभामुख पद लामो समयदेखि रिक्त छ । संवैधानिक परिषद् ऐन २०६६ मा बैठकको गणपूरक संख्याका लागि अध्यक्ष र ४ जना सदस्यको उपस्थिति आवश्यक हुने उल्लेख छ । अहिले परिषद्मा प्रधानमन्त्रीसहित ५ जना मात्रै सदस्य छन् । १ जना सदस्य मात्रै अनुस्थित भए बैठकका लागि गणपूरक संख्या पुग्दैन । पार्टीभित्रै अल्पमतमा परेका ओलीलाई प्रचण्डले संवैधानिक परिषद्मा समेत संकटमा पारिदिएका छन् ।
देउवाले भने बैठकमा सहभागी नहुनुको कारण सोमवारका लागि पूर्व निर्धारित पार्टीको विरोध कार्यक्रमलाई देखाएका छन् । ‘हाम्रो पार्टीले मंसिर २९ गते देशका ७७ जिल्लामै सरकारको विरोधमा प्रदर्शन गर्दैछ । प्रधानमन्त्रीले परिषद् बैठक बोलाउनुअघि नै विरोध कार्यक्रम तय भइसकेको थियो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘उहाँ (सभापति देउवा) त्यसका लागि आईतवार हेटौंडा जाँदै हुनुहुन्छ ।’
प्रधानमन्त्री ओलीले आईतवार बिहान ९ बजे परिषद् बैठक बोलाएका छन् । त्यसका लागि ४८ घण्टाअगावै सदस्यहरूलाई सूचना दिनुपर्ने प्रावधानअनुसार बिहीवार नै प्रधानमन्त्रीले जानकारी गराएका थिए ।
कांग्रेस नेताहरूले भने पार्टीको विरोध कार्यक्रमको अघिल्लो दिन प्रधानमन्त्रीले परिषद् बैठक बोलाउनुलाई शंकाको दृष्टिले हेरेका छन् । ‘सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनको अघिल्लो दिन संवैधानिक परिषद्को बैठकमा सहभागी हुनु उचित देखिएन,’ कांग्रेसका एक नेताले भने, ‘यो कतै आन्दोलनलाई फितलो बनाउन प्रधानमन्त्रीले नियोजित रूपमा बैठक बोलाउनुभएको हो कि भन्ने हामीलाई आशंका छ ।’ ती नेताका अनुसार विरोध प्रदर्शनअघि परिषद् बैठकमा सहभागी बन्न नहुने सुझाव सभापति देउवालाई दिइएको थियो ।
सभामुख सापकोटाले परिषद् बैठकको सूचना पाएलगत्तै आफ्नो कार्यव्यस्तताबारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ । ‘आईतवार बिहान संघीय संसद्को व्यवस्थापन समितिको बैठक छ । त्यसमा सभामुख र राष्ट्रियसभा अध्यक्ष अनिवार्य उपस्थित हुनुपर्छ । दिउँसो संसद् सेवा दिवसका अवसरमा विविध कार्यक्रम हुँदैछन्,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेल भने, ‘यी सबै कार्यक्रम पूर्व निर्धारित हुन् ।’
उनले संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित हुने भएपछि अन्य सदस्यको उपस्थितिको खासै अर्थ नरहेको उल्लेख गरेका छन् ।
‘प्रमुख प्रतिपक्षी दलका नेताले म बैठकमा आउन्न भनेर जानकारी दिइसकेको खबर आएका छन्,’ उनले भने, ‘उहाँ (देउवा) नै नआउने भएपछि बैठक नै कसरी बस्ला र ?’ १३ संवैधानिक आयोगमध्ये ११ वटामा ४५ पद रिक्त रहेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
लामो समयदेखि परिषद् बैठक नबस्दा पदपूर्ति हुन नसकेको हो । संवैधानिक निकायमा पदपूर्तिका लागि परिषद् बैठकले सिफारिस गर्ने व्यवस्था रहेको छ । मुख्य निकाय मानवअधिकार आयोग पदाधिकारीविहीन छ भने अख्तियार कार्यवाहकका भरमा चलिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।