बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेकपामा वार–पारको लडाइँ : ओली र प्रचण्डमध्ये कसको तागत कति ?

नेकपामा वार–पारको लडाइँ : ओली र प्रचण्डमध्ये कसको तागत कति ?

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 4.6K
    SHARES

  • नेकपामा वार–पारको लडाइँ : ओली र प्रचण्डमध्ये कसको तागत कति ?

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल यति बेला शक्ति परीक्षणमा लागेका छन् । आ–आफ्ना समूहका नेता कार्यकर्ता भेला गर्दै समर्थकको संख्या आकलन गर्न थालेका हुन् ।

    पार्टीमा वार कि पारको अवस्था आउन लागेको विश्लेषण गर्दै उनीहरूले सानो सानो समूह तथा नेताहरूको भेला गरेर आ–आफ्नो तागतको हिसाबकिताब गर्दैछन् ।

    आफ्नो पक्षमा कुन–कुन कमिटीमा बहुमत छ भनेर पनि उनीहरूले समूहका नेताहरूसँग बुझिरहेका छन् । प्रचण्ड–नेपाल समूहले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा तलसम्मै आफ्नो समूह बहुमतमा रहेको जनाएका बेला ओली पक्षले पनि कमिटीगत रूपमै बहुमत–अल्पमतको हिसाब गरिरहेको छ । ‘दुवै पक्षले बहुमत–अल्पमतको जोड–घटाउ गरिरहेका छन्,’ नेकपा स्रोतले भन्यो ।

    प्रधानमन्त्री ओली पक्षका नेताहरूले दिनहुँ यस्ता भेला गरिरहेका छन् भने प्रचण्ड–नेपाल समूहले पनि भेला गरेर आफ्ना धारणा राख्न थालेका छन् । उनीहरूले स–साना समूहमा भेला गर्न थालेका हुन् । कात्तिक २८ गते प्रचण्डले सचिवालय बैठकमा राखेको प्रतिवेदन तल्लो तहसम्म पठाइएपछि ओली समूह पनि तल्लो तहसम्मकै कार्यकर्तासँग छलफलमा जुटेको छ ।

    ‘ओली पक्षका नेता–कार्यकर्ताले देशव्यापी रूपमै भेला गरिरहेका छन् । उता दाहाल–नेपाल समूहले पनि आफ्ना समूहका नेताहरूलाई तल्लो तहसम्ममा उपस्थिति कस्तो छ भनेर बुझिरहेका छन् । समग्रमा भन्ने हो भने दुवै पक्षका नेताहरू आफ्नो शक्ति कति रहेको छ भनेर परीक्षण गरिरहेका छन्,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार नेताहरूले यसरी बैठक गरेर कार्यकर्ताबीच पनि चिरा पारेकाले पार्टी सग्लो देखिए पनि अनौपचारिक रूपमा विभाजन भइसकेको छ ।

    ‘महाधिवेशनको वैचारिक बहस खुल्नुअघि नै शीर्ष नेताहरू आफैंले गुट भेलालाई सम्बोधन गरेपछि पार्टी विभाजन उन्मुख छ भनेर आकलन गर्न सकिन्छ,’ ती सदस्यको भनाइ छ । नेताहरूले भने गुट भेलामा सम्भावित पार्टी विभाजनको दोष एकअर्कालाई दिइरहेका छन् ।

    प्रचण्ड–नेपाल पक्षले ओली पार्टी विभाजन गर्न लागेको बताउँदै आएका छन् । ओली समूहले पनि प्रचण्ड–नेपाल समूहले पार्टी विभाजनको लागि बहुमतको कसरत गरेको आरोप लगाएको छ । प्रचण्ड–नेपाल समूह बहुमतबाट पार्टीको निर्णय कार्यान्वयन गर्ने पक्षमा छन् ।

    मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नो र ओलीले फर्काएको जवाफ सबै स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि बाँडेका थिए । सोही प्रस्तावको विषयमा आईतवार छलफल हुने बताइएको छ । त्यसअघि बिहीवार प्रचण्ड–नेपाल पक्षको गोप्य भेला भएको थियो । 

    बदलिँदो परिस्थिति, पार्टीभित्र देखिएको समस्या र ओली पक्षको सामना कसरी गर्ने भन्नेमा केन्द्रित भेलामा वाग्मती प्रदेशका १४ जिल्लाका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव सहभागी भएका थिए । त्यहाँ दाहाल र नेपालले सम्बोधन गरेका थिए । भर्चुअल रूपमा गरिएको सम्बोधनमा उनीहरूले ओलीले एकलौटी ढंगले सरकार र पार्टी चलाएको, पार्टी एकताको भावनाअनुसार नचलेको, निर्णयअनुसार पार्टी सञ्चालन नगरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाएका थिए ।

    भेलामा वाग्मती प्रदेशका इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, स्थायी कमिटी सदस्य पम्फा भुसाल र अन्य नेता सहभागी थिए । यस्तो भेला पुस पहिलो हप्तामा काठमाडौंमा गर्ने तयारी भएको दाहालनिकट एक नेताले भने । उनका अनुसार यस्ता भेला निरन्तर सञ्चालन हुुने भएका छन् ।

    प्रचण्ड–नेपाल समूहले भेला राखेपछि ओली पक्षका युवा नेता देश दौडाहामा लागेका छन् । ओली समूहका युवा विद्यार्थीले प्रदेश १ को विराटनगरमा भेला गरिसकेका छन् । युवा संघ नेपालका सहसंयोजक रमेश पौडेल पनि देश दौडाहाको क्रममा शनिवार विराटनगर पुगेर भेला आयोजना गरेका थिए । त्यसपछि उनी २ नम्बर प्रदेशमा भेलाको तयारीमा लागेका छन् । उता प्रचण्ड–नेपाल समूहले आइतवार झापामा भेला गर्ने बताइएको छ ।

    ओली पक्षले मदन भण्डारी फाउन्डेसनको ब्यानरमा भेला गर्दै आएको छ । पार्टीभित्रको विवादको एउटा जड मदन भण्डारी फाउन्डेसनको नाममा हुने गुट भेला पनि रहेको छ । प्रधानमन्त्री ओली तथा उनी निकट नेताहरूले वडा तहसम्म पनि फाउन्डेसनलाई सक्रिय बनाएर गुट भेला गरिरहेको प्रचण्ड–नेपाल पक्षको आरोप छ । सुदूरपश्चिम प्रदेशमा भीम रावल र लेखराज भट्ट समूहको छुट्टाछुट्टै भेला हुने गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    यसका अतिरिक्त प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकटका नेताहरूसँग दिनहुँ परामर्श गर्दै आएका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेल, विष्णु पोडैल, सुवास नेम्बाङ लगायतका नेताहरूसँग परामर्श गर्ने गरेका छन् । प्रचण्डले आफू निकटका नेताहरूसँग खुमलटारमा छलफल गर्ने गरेका छन् । प्रचण्डसँग वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ नियमित परामर्शमा रहने गरेका छन् । दुवै पक्षका समानान्तर भेला र बैठकले पार्टी ध्रुवीकृत भइसकेको अनुमान नेकपा नेता कार्यकर्ताको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend