काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा शक्ति संघर्षले पार्टी एकता धरमराइरहेका बेला एक अध्यक्ष विनै स्थायी समिति बैठक सुरू भएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै आइतवार बैठक बसेको हो । तर ओलीले पत्र पठाएर आफ्नो अनुपस्थितिको कारण खुलाएका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावले पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलको सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा पुर्याएको र त्यस्तो प्रस्तावलाई आफूले खारेज गरिसकेकाले बैठकमा त्यही विषयमा छलफलका लागि आउन आफू असमर्थ रहेको पत्र ओलीले पठाएका हुन् । ओली विनाको बैठकमा अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई कुनै गम्भीर निर्णय लिन अप्ठ्यारो देखिन्छ । तापनि, बहुमत र अल्पमतको प्रक्रियामा पार्टीलाई धकेल्ने गरी स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको हो ।
ओलीले प्रचण्डको पत्र फिर्ता लिनुपर्ने आफ्नो मान्यता अझै यथावत् रहेको भन्दै स्थायी समिति सदस्यलाई पत्र लेखिरहँदा पनि दाहालले भने आफ्नो प्रस्ताव फिर्ता नहुने अडान बैठकमा राखेका छन् । तर बैठक एक साता रोकेर दाहालले ओलीसँग संवादका लागि ठाउँ छाडेका छन् ।
दुवै अध्यक्षका प्रस्ताव, दुवै अध्यक्षले एकआपसमा गरेका पत्राचार सहितका सामग्री अध्ययनका लागि वितरण गर्दै बैठक २८ मंसिरसम्म स्थगन गरिएको छ । कात्तिक २५ गते तय भएको केन्द्रीय समिति बैठक पनि पछि सार्दै पुस ५ गतेका लागि तोकिएको छ ।
नेताहरूले २ अध्यक्षबीच सहमतिको खोजीका लागि यो समय सदुपयोग गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो अवधिमा सहमतिको खोजीका लागि नेताहरूले अधिकतम पहलकदमी लिनुपर्ने बताएका छन् । ‘उहाँहरूले दुबै प्रस्ताव थाती राखेर नयाँ प्रस्ताव तयार पार्नका लागि पनि यो बीचमा अधिकतम पहलकदमी गर्नु आवश्यक छ,’ ओलीनिकट नेता गुरुङले भने, ‘यसका लागि एक साताको समय मिलेको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
तर दाहालले आरोपरप्रत्यारोपको फायर पहिले प्रधानमन्त्रीले खोलेको भन्दै त्यसबारे पार्टी कमिटीमा छलफल गरेरै एउटा सार्थक निष्कर्ष खोजी गर्नुपर्ने बताए । ‘यो मैले ल्याएको नितान्त राजनीतिक प्रस्ताव हो । यसलाई कसैले स्वीकार गरे पनि, नगरे पनि यो दस्तावेज भइसक्यो अब । यसमै छलफल गरेर अब हामीले समाधानको खोजी गर्नुपर्छ । मैले मेरो प्रस्ताव ठीक र उहाँ (प्रधानमन्त्री) को बेठीक भनेको छैन । दुवै जनाको प्रस्तावमा छलफल गरौं । छलफलबाट योभन्दा अझ उच्चस्तरको राजनीतिक प्रतिवेदन तयार पारेर जान पनि सकिन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्थायी समितिका एक सदस्यले भने, ‘अब प्रस्ताव फिर्ता लिऔं भनेर मात्र हुन्छ ? दुइटा अध्यक्ष मात्र मिलाएर मिल्ने विषय अब यो रहेन । यो सार्वजनिक भइसकेको छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै सार्वजनिक बहसको विषय भएर गइसक्यो । मेरो प्रस्तावमा सैद्धान्तिक राजनीतिक विषय मात्र छन् । पार्टी एकतायताका विषय समेटिएका छन् । तर प्रधानमन्त्रीले ३८ पृष्ठको आफ्नो प्रस्ताव ल्याउनुभयो । तर त्यहाँ उहाँले पार्टी एकताभन्दा पहिलाका विषय पनि सबै समेटेर ३८ पृष्ठको प्रस्ताव भनेर ल्याउनुभयो । म त्यसको ३८ बुँदामा जवाफ दिन तयार नै छु । तर्कसंगत ढंगले यसलाई विस्थापन गर्न सकिएला तर फिर्ता हुँदैन ।’
प्रचण्डले झण्डै सवा घण्टा बैठकलाई सम्बोधन गरे । उनले समस्या कसरी निम्तियो भन्नेदेखि समाधानको बाटो के हुनेसम्ममा केन्द्रित रहेर धारणा राखेको ती स्थायी समिति सदस्यले बताए । ‘पार्टीभित्र यो खालको समस्या किन आयो ? कसरी हामी यो ठाउँमा आइपुग्यौं भन्नेबारे कमरेडहरूले बुझ्न जरुरी छ । भदौ २६ गतेको स्थायी समिति बैठकमा हामीले लामो रस्साकस्सी गरेर कार्यदल गठन गर्दै एक खालको सहमति र निर्णय लिएका थियौं । तर २६ गतेको निर्णय कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा प्रधानमन्त्रीलाई मनाउनुपरेको थियो । मलाई घिसारेर तपाईंहरूले हस्ताक्षर गराउन लगाउनुभएको त हो नि भनेर निर्णयलगत्तै महासचिवकै अगाडि प्रधानमन्त्रीले भन्नुभयो,’ दाहालले भने, ‘अन्तरपार्टी निर्देशन (अपानि) पठाउने बेलामै उहाँले हस्ताक्षर गर्न मान्नुभएन । पछि महासचिव समेत बसेर अपानि पठाउन कसरत गर्नुपरेको थियो । कार्यदल गठन भएकै बेला बाहिर कुरा नलाने भनिएको थियो । विवाद आउने कुरा नगर्न कार्यदलले अनुरोध गरेको थियो । तर त्यही बेला पनि प्रधानमन्त्रीले मेरो, माधव कमरेडको आलोचना गर्ने, जथाभावी लेख्ने मान्छेहरूलाई छानी–छानी नियुक्ति दिएर सम्मान दिने काम गर्नुभयो । त्यही बेलादेखि उहाँले अरुचि देखाउने काम सुरू गर्नुभयो ।’
मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णालीमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव र विकसित घटनाक्रम, पर्सामा पार्टी जिल्ला सदस्यको हत्या प्रकरण, कोभिडका विषयमा छलफल गर्न बैठक माग गर्दा पनि प्रधानमन्त्रीले असहमति जनाएपछि पार्टीमा समस्या देखापरेको प्रचण्डको भनाइ थियो ।
‘पार्टी काम टुंगो लगाउन बैठक राखौं भन्ने भयो तर रोक्ने काम भयो । विद्यार्थीको कार्यालय बनाउने विषयमा उहाँले रोक्नुभयो । अन्तिममा केही गरी पनि बैठक राख्न नमानेपछि म आफ्नो तर्फबाट पार्टी बैठक बोलाउँछु भन्ने कुरा गरें । तर उहाँले तपाईंले बैठक बोलाएकै दिन पार्टी फुटको घोषणा हुनेछ भन्नुभयो,’ प्रचण्डले भने, ‘पार्टी बैठक बोलाउँदा पार्टी नै फुटको घोषणा हुन्छ भने के बैठक बोलाउने भन्ने भयो । त्यसपछि मैले उहाँसँग समेत सल्लाह गरेर अनौपचारिक सचिवालयको बैठक राख्छु, नेताहरूसँग समस्याबारे कुरा राख्छु भने । अनौपचारिक बैठक दुई दिन राखेर बैठकका लागि सहमति दिनुस् भनेर प्रधानमन्त्रीलाई पत्र बुझाउने कुरा भयो । त्यहाँ मैले पनि सही गर्दा हुन्छ भन्ने भयो । मैले पनि हस्ताक्षर गरिदिएँ । पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू समेत रहेका ५ जना नेताले बैठकका लागि सहमति दिनुस् भन्दा बैठकका लागि भोलि, पर्सिपल्ट जहिले दिएको भए पनि हुन्थ्यो नि ! तर चिठीबापतमा उहाँले तोक लगाउनुभएछ र महासचिवलाई पठाउनुभएछ, विधानबमोजिम गर्नुस् भनेर । बैठकको कुरा आएन । प्रधानमन्त्रीले सचिवलाई तोक लगाएजस्तो, खरदार, सुब्बालाई तोक लगाएजसरी उहाँले तोक लगाउने काम गर्नुभयो । त्यति मात्रै गर्नुभएन, ४ दिनपछि १० पेजको फायर खोल्ने काम उहाँले गर्नुभयो ।’
प्रधानमन्त्रीको पत्र आएपछि आफूले पनि बाध्यताले पत्र र प्रस्ताव लेख्नुपरेको प्रस्टोक्ति दाहालले बैठकमा दिएका थिए । ‘१० पृष्ठ लामो पत्र आएपछि हामीले पनि केही त लेख्नुपर्ने भयो । मेरो अगाडि बाध्यता रह्यो । त्यसपछि अत्यन्त सैद्धान्तिक, राजनीतिक विषय मात्र समेटेर चिठीको जवाफ र १९ पृष्ठको प्रस्ताव लेखेको हुँ । यी पत्र, प्रस्तावहरूमा सबै विषय आएको छ । तपाईंहरूले गम्भीरतापूर्वक अध्ययन गर्नुस्, सोच्नुस् । अनि आएर बहसमा सहभागी हुनुहोस् ।’
प्रचण्डले अब पार्टीमा आइसकेका प्रस्ताव क्रमशः कमिटीमा प्रवेश गर्ने पनि बताए । ‘फाइट टु फिनिसमा जानुपर्छ भन्ने मेरो कुरा होइन । यसलाई अझै बढी छलफल गरेर सहमतिको खोजी गर्ने विषय हो । स्थायी समितिले सकेन भने केन्द्रीय समिति, केन्द्रीय समितिले पनि सकेन भने महाधिवेशनमा भए पनि जाने र टुंग्याउनुपर्ने हुन्छ । विषय आइसक्यो, विषय आएपछि त्यसको छिनोफानो त गर्नुपर्छ,’ उनले भने ।
उनले पार्टी विभाजनका लागि देशी/विदेशी प्रतिक्रियावादीले पनि कोसिस गरिरहेको बताए । त्यसमा नेताहरूले चनाखो र सचेत भएर रूपान्तरण सहितको एकताको पक्षमा बहस चलाउनुपर्ने उनको भनाइ थियो । ‘हामीले छलफल गरेरै रूपान्तरण सहितको एकता गर्ने ठाउँमा पुग्नुपर्छ । यसको निचोड भनेको बहसमै भाग लिने, रूपान्तरण सहितको एकताको खोजी गर्ने हो । हिजोबाट २ अध्यक्षबीच छलफल पनि सुरू भएको छ । अझै छलफल गरौं भन्न्ने छ,’ दाहालले भने, ‘२८ गतेसम्म तपाईंहरूले यो सबै डकुमेन्टलाई राम्रोसँग अध्ययन गर्नुस् । यसबाट यसको निचोड निक्लेला । स्थायी समितिमा पनि निचोड निस्केन भने केन्द्रीय समितिमा जाऔंला ।’
उनले आफू पनि पद त्याग गर्न तयार रहेको धारणा बैठकमा व्यक्त गरेका थिए । ‘देशमा आएका परिवर्तन जोगाउने सन्दर्भमा हाम्रा पद ठूला कुरा होइनन्,’ उनले भने, ‘एकताको विकल्प छैन, हाम्रा लागि हाम्रा पदभन्दा ठूलो गणतन्त्र र पार्टी एकता हो । त्यसको रक्षाका लागि जो–कोहीले पनि त्याग गर्नका लागि तयार हुनुपर्छ । म पनि तयार छु ।’
महासचिव विष्णु पौडेलले बैठकको सुरूमै पार्टीभित्र गम्भीर संकट उत्पन्न भएकाले विशेष परिस्थितिमा स्थायी समिति बैठक बस्न लागेको बताएका थिए । ‘यो नियमितभन्दा पनि विशेष प्रकारको बैठक बन्न पुगेको छ । यो बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आउन असमर्थ हुनुभएको छ । आउन सक्दिनँ भन्ने उहाँको खबर आएको छ । त्यसैले आजको बैठक खास एजेन्डा पार्टीभित्रको आन्तरिक समस्याको समाधान भन्ने एउटै मात्र एजेन्डा छ । यसभित्र मात्र रहेर हामी यो बैठकमा छलफल गर्छौं,’ महासचिवले बैठक सुरू गर्दै भनेका थिए ।
महासचिव पौडेलले बैठक १ हप्ता रोक्ने प्रस्ताव गरेको भन्दै प्रचण्डले बैठकमा धारणा राखेका थिए । त्यसपछि १ हप्ता बैठक स्थगन गर्ने निर्णय नेकपाले लिएको थियो । तर केन्द्रीय समिति बैठकको मिति तोक्ने विषयमा भने ओली पक्ष एकातिर र दाहाल–नेपाल पक्षका नेता अर्का पक्षमा उभिएर आआफ्ना अडान लिएका थिए । ओली पक्षका महासचिव पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ लगायतले केन्द्रीय समिति बैठकको मिति तोक्न नहुने बताएका थिए ।
बेदुराम भुसाल लगायतले भने मिति तोकेर जानुपर्नेमा जोड दिएका थिए । अन्ततः पुस ५ गतेमा केन्द्रीय समिति बैठक राख्ने निर्णय स्थायी समिति बैठकले गरेको थियो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय समितिको बैठक पुस ५ गते तय भएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।