बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक विशेष

केपी ओलीका सबै अस्त्र फेल, बहुमतसहित प्रचण्ड–नेपालको कब्जामा नेकपा

केपी ओलीका सबै अस्त्र फेल, बहुमतसहित प्रचण्ड–नेपालको कब्जामा नेकपा

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 8.4K
    SHARES

  • केपी ओलीका सबै अस्त्र फेल, बहुमतसहित प्रचण्ड–नेपालको कब्जामा नेकपा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको ‘एकता महाधिवेशनसम्म सहमति र समझदारीमा अघि बढ्ने’ समझदारी शनिवार विधिवत् रूपमा तोडिएको छ ।

    बहुमत सदस्यहरूको पहलमा शनिवार बसेको सचिवालय बैठक र त्यही बैठकका बहुमत सदस्यहरूबाट व्यक्त रायका आधारमा आईतवारका लागि स्थायी कमिटी बैठक तोकेर नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेको हो । यससँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली थप अप्ठ्यारोमा परेका छन् ।

    साढे २ वर्षअघिको समझदारी पत्रको पहिलो बुँदामै ‘आगामी एकता महाधिवेशन वैचारिक, राजनीतिक विषय एवम् नेतृत्व निर्माण र संगठनसम्बन्धी विषय अल्पमत, बहुमतका आधारमा नभई सहमति र समझदारीका आधारमा टुंगो लगाउने’ भनिएको छ । ‘पार्टी अब विधानअनुसार अगाडि बढ्ने भयो, एकताको महाधिवेशनबाट सहमतिका आधारमा नेतृत्व नछान्दासम्म सबै विषयमा समझदारीकै आधारमा अघि बढ्ने भन्ने पूर्ववर्ती सहमति अध्यक्षद्वयबाटै तोडियो, शनिवार सचिवालय बैठक बसौं भन्नेमा २ अध्यक्षबीच सहमति थिएन,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘भोलि स्थायी कमिटी बैठक पनि सहमतिले होइन, कमिटीले राखेको हो ।’

    नेताहरूका अनुसार झण्डै साढे ४ घण्टा बसेको सचिवालयको बैठक आईतवार स्थायी कमिटी बैठक बोलाउने वा नबोलाउने भन्नेमै केन्द्रित भएको थियो । बैठक शुरू हुनेबित्तिकै अध्यक्ष दाहालले स्थायी कमिटीको बैठक बोलाएर सचिवालयका सबै दस्तावेज अध्ययनका लागि सदस्यहरूलाई दिने र केही समय लिएर सचिवालयमा फेरि छलफल चलाउनुपर्ने प्रस्ताव गरेका थिए ।

    ‘हाम्रो पार्टीको गम्भीर प्रकृतिको समस्या थाहा छ । यसलाई छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर हामीले प्रस्ताव पेस गरेका छौं,’ प्रचण्डले भनेका थिए, ‘सचिवालयमै निष्कर्ष निकाल्न सकिन्छ कि भन्ने पनि आएको छ तर स्थायी कमिटीको बैठक बोलाइसकिएकाले भोलि (आइतवार) त्यहीं प्रस्तावहरू लिएर जाऔं ।’

    प्रचण्डले स्थायी कमिटी सदस्यहरूलाई प्रस्ताव अध्ययन गर्न दिएपछि सचिवालयले फेरि केही दिन समय लिन सक्ने बताएका थिए । ‘बोलाइसकिएको स्थायी कमिटी बैठकलाई अनदेखा गर्न मिल्दैन, प्रस्तावहरू बाँडेपछि उहाँहरूसँगको सहमतिमा हामीले समय लिउँला,’ उनले बैठकमा भने । दाहालको उक्त प्रस्तावमा सचिवालय सदस्यहरू ईश्वर पोखरेल र रामबहादुर थापासहित प्रचण्ड–नेपालपक्षीय सबै सचिवालय सदस्यहरूले समर्थन जनाए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    महासचिव विष्णु पौडेलले भने समस्या बोकेर स्थायी कमिटीमा जानका लागि सचिवालय असफल भएकै हो त भनेर सोधेका थिए । उनको उक्त प्रश्नमा खनाल, माधव नेपाल र वामदेव गौतमले असहमति राखे । ‘सचिवालय काम नलाग्दो भयो भनेको के हो ?’ तीनै नेताको आशय थियो, ‘महासचिवले यस्तो कुरा गर्न पाइँदैन । स्थायी कमिटीमा जाने भन्दैमा सचिवालय असफल भयो भन्न पाइन्छ ?’

    बैठकमा आफू र महासचिव पौडेल बाहेकका सदस्यहरू स्थायी कमिटीमा दस्ताबेजहरू बाँडेर सचिवालयमा पनि सहमति खोज्न थप समय लिने विषयमा सहमत भएपछि ओलीले असन्तुष्टि राखेका थिए । ‘यो पार्टीमा बल प्रयोग हुन थाल्यो, यो पनि बल प्रयोगकै बैठक हो । धेरै बल प्रयोग नगर्नुस्,’ उनले भनेका थिए, ‘प्रचण्डजीले ल्याएको लाञ्छनापत्र कुनै कमिटीमा छलफलयोग्य छैन, लान मिल्दैन, लगे पनि गालीगलौज र रत्यौली मात्रै हुने हो, त्यस्तो गालीगलौज र रत्यौली हुने बैठकमा म जान्नँ । तपाईंहरूको तयारी पूरा भयो होला, आफ्नो तयारी पूरा भएपछि जाने हो भने त मेरो के लाग्छ र ?’

    प्रधानमन्त्री ओलीले अहिले तयारी नपुगेको भन्दै स्थायी कमिटी बैठक केही समय पर धकेल्न आग्रह गरेका थिए । ‘मलाई दुवै पदबाट हटाउने चालबाजीस्वरूप नै स्थायी कमिटी बैठक डाकिएको हो तर म हट्दिनँ,’ बैठकमा उनले भने, ‘स्थायी कमिटी बैठक किन र के कामका लागि चाहियो ? यसलाई अहिले रोकौं ।’

    प्रधानमन्त्रीले यसो भनेपछि खनाल, नेपाल र गौतमले ‘तयारीका लागि कति समय चाहिन्छ दिन्छौं, दिन तोक्नुस् तर स्थायी कमिटीलाई अनिश्चित समयसम्म धकेल्ने कुरा नगर्नुस्’ भनेका थिए । ओलीले दिन भने तोकेनन् । बरु आफूले प्रचण्डको आरोपपत्र फिर्ता लिन समय मागेको भन्दै अब नचाहिने बताए ।

    ‘गृहकार्यका लागि समय भनेको त मैले आरोपपत्र फिर्ता लिनका लागि हो, अब ती लाञ्छनापत्रहरूलाई स्थायी कमिटीमै बोकेर जाने हो भने समय चाहिन्नँ, गृहकार्य पनि चाहिन्नँ ।’

    त्यसपछि वरिष्ठ नेता नेपालले ओलीले आफूलाई अझै सुपरम्यान ठानेको टिप्पणी गरेका छन् । ‘यति धेरै कुरा भइसक्दा पनि तपाईंले आफूलाई अझै पनि सुपरम्यान ठानिरहनुभएको छ, सहमतिमा जाऔं भन्दा त्यसो गर्नुहुन्न,’ उनले भने, ‘आफूलाई सच्याउनुस् । समस्या आजको होइन, उहिलेदेखिकै हो ।’ साढे ४ घण्टाको गलफतीपछि अध्यक्ष दाहालले आइतबार स्थायी कमिटी बैठक डाक्ने, अध्यक्षद्वयले धारणा राख्ने, दस्तावेजहरू वितरण गर्ने कार्यसूची प्रस्ताव गरे ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्षद्वयले धारणा राखेपछि स्थायी कमिटी सदस्यहरूलाई बढीमा ५ दिन अध्ययन गर्न समय दिने तयारी नेताहरूको छ । यसबीचमा सचिवालय सदस्यहरूले पनि छुट्टै सहमतिका लागि संवाद गर्नेछन् ।

    सचिवालयजस्तै स्थायी कमिटीमा पनि ओली अल्पमतमा छन् । ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका नेताहरू १२ जना मात्रै छन् । आफ्नो स्पष्टै अल्पमत भएकाले पनि ओलीपक्षीय नेताहरूले पछिल्लो समय बहुमत, अल्पमतको राजनीतिमा लाग्न नहुने बताउँदै आएका थिए । तर यसपालि पार्टी नेतृत्वमा देखिएको विवादले सैद्धान्तिक आकारसमेत लिइसकेकाले २ अध्यक्षको तहमा सहमति गरेर कुरा मिल्न नसक्ने ठम्याइ दाहाल–नेपाल पक्षको छ । त्यसैकारण शनिबार ओली र दाहालका दुवै दस्ताबेजलाई अध्ययन गरेर साझा प्रस्ताव बनाउनुपर्ने सचिवालय सदस्य थापाको प्रस्ताव पनि अस्वीकृत भयो ।

    ‘बादलजीले विवादको टुंगो सचिवालयबाटै लगाऔं, साझा प्रस्ताव बनाउन वामदेवजीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाऔं भनेर प्रस्ताव ल्याउनुभएको थियो,’ सचिवालयका एक सदस्यले भने, ‘वामदेवजीले नै त्यसलाई अस्वीकार गर्नुभयो । हामीले पनि कार्यदलको औचित्य नरहेको बतायौं ।’

    नेकपाको अन्तरिम विधानको धारा ६० मा बहुमतको निर्णय पार्टीको निर्णय हुने उल्लेख छ । यसअघि पार्टी निर्णयमा नेताहरू नेपाल र श्रेष्ठले बारम्बार असहमति जनाउँदा अध्यक्षद्वयको सहमतिमा निर्णयहरू हुने गरेका थिए । वरिष्ठ नेता नेपालले एकतायता ३ पटक ‘नोट अफ डिसेन्ट’ लेखेका छन् भने सचिवालयका निर्णयमा दर्जनौं पटक मौखिक असहमति पनि राखेका छन् । तर पार्टीको मियोका रूपमा रहेका अध्यक्षद्वयकै बीचमा सहमति नभएर बैठक बहुमतका आधारमा सञ्चालन हुन थालेको यो पहिलो पटक हो । स्थायी कमिटी सदस्यहरूले सचिवालय समस्या सिर्जना गर्ने थलो भएको भन्दै विवादको छिनोफानो गर्न आफूहरू तयार रहेको बताउँदै आएका छन् । तर नेतृत्वमा अत्यन्तै कटुता सिर्जना गरेको अहिलेको विवादले अब कस्तो गति लिन्छ, टुंगो लागिसकेको छैन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend