काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वयबीच बढ्दै गएको विवाद स्थायी कमिटी बैठकमा छलफल हुने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले जिद्दी गर्न छाडेका छैनन् ।
शनिवारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान दोहोर्याएका छन् ।
शनिवारको सचिवालय बैठकमा पार्टीभित्रको संकटमा सहमति नजुटेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने तर्क गरेका थिए । तर ओली अर्कै जिद्दीमा लागे ।
नेताहरूले तल्ला कमिटीबाट निर्णय गर्ने धारणा राखेपछि प्रधानमन्त्री ओलीले जहाँ गए पनि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने जिद्दी दोहोर्याएका एक सचिवालय सदस्यले जानकारी दिए ।
‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिनँ, अध्यक्ष पनि छाड्दिनँ,’ बैठकमा ओलीले राखेको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘स्थायी समिति बैठकको पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन ।’
दुवै प्रस्ताव स्थायी कमिटीमा जाने र बाहिर आएजस्तो ओलीले २ मध्ये १ पद छाड्नुपर्ने भन्ने भनाइप्रति संकेत गर्दै ओलीले आफू कुनै पद नछाड्ने जिद्दी गरेका हुन् । ओलीलाई कुनै एक पदबाट राजीनामा गराउन दबाब बढाइरहेका प्रचण्ड–नेपाल लगायत नेताहरू ओलीको जिद्दी देखेर हैरान भएका छन् ।
ओलीले जिद्दी गरेपनि आईतबारका लागि स्थायी समिति बैठक बोलाइएको छ भने ओलीले अब स्थायी समितिको सामना गर्नुपर्ने भएको छ । स्थायी समितिमा दुवै अध्यक्षको प्रस्ताव छलफलका लागि पेश हुनेछ भने ओलीलाई दुईमध्ये एक पद छाड्न बाध्य बनाउने रणनीति प्रचण्ड पक्षको छ ।
प्रचण्डले पार्टीमा बुझाएको प्रस्तावमा ओली सरकार असफल भएको, भ्रष्टाचारमा डुबेको, सरकारका गलत निर्णयले पार्टी बदनाम भएको र ओलीले त्याग गर्नुपर्ने भनिएको छ । प्रचण्डको प्रस्ताव पारित भए ओलीले राजीनामा दिनुपर्नेछ । तर ओली राजीनामा नदिने जिद्दी गरेर बसेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।