काठमाडौं – लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएका सबै विवादहरू छलफलका लागि स्थायी कमिटी बैठकमा लैजाने निर्णय भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ठूलो संकट आइलागेको छ ।
आज शनिबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले विवादहरू अध्यक्षद्वय मिलेर सचिवालयमै टुंग्याउनुपर्ने अडान राखेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले पेलेरै भोलि स्थायी कमिटी बैठक राख्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । सचिवालयमा जस्तै स्थायी कमिटीमा समेत प्रचण्ड पक्षको बहुमत रहेकाले ओलीविरुद्ध जेसुकै निर्णय पनि हुनसक्ने विश्लेषण नेकपाभित्र हुन थालेको छ ।
सचिवालयमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले बहुमतका आधारमा पेलेरै स्थायी कमिटी बैठक गर्ने निर्णय गरेका छन् । स्थायी कमिटीको बैठक भोलि आईतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
मंसिर १७ गतेको सचिवालय बैठकमा भने ओली सहभागी नभए पनि शनिबारको बैठकमा सहभागी थिए । तर बैठकमा ओलीका कुरा लागू भएनन् । प्रचण्ड पक्षले ओलीलाई पेलेरै जित्यो । ओलीले पार्टीका बैठक केही पर सारेर सहमति खोज्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतलाई खटाएर प्रचण्डसँग छलफल गराए पनि ओली सफल भएनन् ।
आजको सचिवालय बैठकअघि पनि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वान टु वान वार्ता भएको थियो । पार्टीभित्र विवाद चर्किंदै गएपछि गत कात्तिक २५ गतेयता दुवै अध्यक्षबीच एक्लाएक्लै वार्ता हुन सकेको थिएन । त्यसयता भएका पार्टी सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव र जवाफले विवाद बढाउँदै लगेको छ ।
ओलीसँग वार्ता गर्न अध्यक्ष प्रचण्ड दिउँसो १२ बजेदेखि बालुवाटार पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको मंसिर १७ गतेको बैठकले आजका लागि बैठक बोलाएको थियो । बुधवारको बैठकमा ओली सहभागी नभएपछि विवादित एजेन्डामा छलफल भएको थिएन । आजको सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन बुधवारको बैठकले आग्रह गरेको थियो ।
प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको बैठकमा ओलीले ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । गत शनिवारको बैठकमा प्रचण्डले ओलीको दस्तावेज दम्भले भरिएको पोको भएको आरोप लगाएका थिए ।
प्रचण्डले पेश गरेर अब स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावमा ओली सरकार असफल भएको, कार्यशैली ठीक नभएको, सरकारका गलत कामले पार्टीको बदनाम भएको आरोप लगाइएको छ । स्थायी कमिटीबाट प्रचण्डको प्रतिवेदन पारित भएमा ओलीको राजनीतिमाथि कलंक लाग्ने र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।