काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मुख्यगरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अन्तर्संघर्ष रहेको देखिन्छ । प्रचण्डलाई वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सघाइरहेका छन् ।
तर बुधबार बालुवाटारमा देखिएको एउटा दृश्यले सबै नेताहरू झस्किए । मंगलबारकै सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यस्ता बैठकको औचित्य नभएको भन्दै बुधबारको बैठक नराख्ने राय पेश गरेका थिए । प्रचण्ड लगायत नेताहरूको दबाबमा बुधबारको बैठक डाँकिएको थियो ।
उता प्रचण्ड पक्षका नेताहरूले ओली बैठकमा नआए पनि बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्नुपर्ने रणनीति बनाएका थिए । बालुवाटारमा निर्धारित समयमा बैठक बस्न नेताहरू कार्यकक्षमा पुगे । प्रधानमन्त्री ओली बैठक कक्षमा आएनन् । त्यसपछि अध्यक्ष प्रचण्डले कोल्टे फेरे ।
मंगलबार जसरी पनि बैठक हुनुपर्ने अडान राखेका प्रचण्डले ओलीको इच्छा अनुसार नै बैठक सार्नुपर्ने प्रस्ताव गरे । एक अध्यक्षको अनुपस्थितिमा बैठक हुन नसक्ने तर्क गर्दै प्रचण्डले बैठक सार्न प्रस्ताव गरे । यस्तो प्रस्ताव गर्नुअघि प्रचण्डले ओली पक्षीय नेताहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग छोटो परामर्श गरेका थिए ।
प्रचण्ड नै ओलीको इशारामा नाचेको देखिएपछि अन्य नेताहरू ‘फायर’ भए । बैठक सार्ने प्रचण्डको प्रस्तावमा तत्कालै प्रतिक्रिया जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले आपत्ति जनाए । ‘कमरेड केपी ओली बैठकमा आउनुपर्यो नि ? अकारण बैठकमा नआउने ?’ वरिष्ठ नेता खनालले प्रश्न गरे, ‘कोही व्यक्ति नआउँदैमा बैठकै हुँदैन भन्न मिल्दैन ।’
नेता नेपालले बरु २ दिन बैठक सार्न सकिने र कोही नआउँदैमा बैठकै हुँदैन भन्न नमिल्ने तर्क गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नआउँदा बैठकै हुँदैन भन्न नमिल्ने बताउँदै प्रचण्डको भनाइको खण्डन गरे । त्यसपछि प्रचण्डले आफ्नो भनाइलाई स्पष्ट पार्दै केही दिनपछि बैठक बस्ने गरी ओलीलाई सहभागी हुन आग्रह गर्नेबारे छलफल भएको विषय स्पष्ट पारे ।
प्रचण्डले थप स्पष्ट पारेपछि अन्य सदस्यहरू सहमत भए र बैठक मंसिर २० गतेसम्म सारिएको छ । तर २० गतेको बैठकमा समेत ओली उपस्थित नभए बहुमतका आधारमा निर्णय हुने प्रचण्ड पक्षीय नेताहरू बताउँछन् । बुधबारको सचिवालय बैठकले मंसिर २१ गते स्थायी कमिटी बैठक समेत बोलाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।