बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डले रचेको चक्रब्यूहमा यसरी फसे केपी ओली, यस्तो छ नालीबेली !

प्रचण्डले रचेको चक्रब्यूहमा यसरी फसे केपी ओली, यस्तो छ नालीबेली !

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 9.2K
    SHARES

  • प्रचण्डले रचेको चक्रब्यूहमा यसरी फसे केपी ओली, यस्तो छ नालीबेली !

    काठमाडौं – लिखित रूपमा आरोपप्रत्यारोपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे । सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा ओलीमाथि दबाब सिर्जना भएको हो ।

    बैठकको शुरूमै ओलीले कात्तिक २८ गते दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुन नसक्ने, त्यसलाई फिर्ता गरेर माफी माग्नुपर्ने र अहिल्यै बैठक बस्नुको औचित्य नभएको बताएपछि एकछिन तनाव उत्पन्न भएको थियो। ‘बैठकमा प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गर्न नपाइने भए किन बैठक बस्नु ? बैठकको अर्थ के हो ?’ भनेर कड्किँदै दाहालले प्रश्न गरेपछि ओलीले २८ गतेको प्रतिवेदन राजनीतिक नभई व्यक्तिगत आरोपपत्र भएको र त्यसमा धेरैजसो शब्द तथा लाञ्छना हेर्दा फौजदारी कानुन आकर्षित हुने देखिएकाले त्यसमा छलफल हुन नसक्ने बताएका थिए । तर प्रचण्डले छलफल हुनैपर्ने अडान राखेपछि उनीहरूबीच भनाभन नै भएको थियो ।

    ‘उहाँहरूबीच निकै वादविवाद भयो त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलले जेजे आरोप भएपनि तिनका बारेमा छलफल गर्ने थलो सचिवालय बैठक नै भएको बताएपछि ओलीले दाहाललाई बोल्न दिएका थिए,’ बैठकपछि सचिवालयका एक सदस्यले भने ।

    शुरूमै ओलीले ‘तपाईंहरू यहाँ झगडा गर्न आउनुभएको हो कि सहमतिसहित बैठक गर्न आउनुभएको हो ? आजको एजेन्डा के हो ? भनेर दाहाललाई प्रश्न गरेका थिए । ‘बाटो बिग्रहको हिँड्ने, कुरा सहमतिको गर्ने ? बाटो बिग्रहको हो कि सहमतिको हो, क्लियर हुनुपर्‍यो,’ ओलीले भनेका थिए ।

    जवाफमा दाहालले आफूहरूसँग धैर्य र संयम रहेको भन्दै धेरै उत्तेजित नबनाउन सुझाएका थिए । ‘बाटो सहमतिकै हो तर तपाईंले जे व्यवहार देखाउनुभएको छ, त्यसले नेपाली कम्युनिस्ट आन्दोलन र जनतालाई निराशातर्फ धकेलेको छ,’ दाहालले भनेका थिए ।

    ‘सबैले बैठकमै आ–आफ्ना कमीकमजोरी र अहंकारबारे धारणा राखौं । कमजोरी कहाँ–कहाँ भयो, खोजौं । बैठक नै नबस्ने, कुराकानी नै नगर्ने, एकपछि अर्को कमजोरी गर्दै जाने हो भने समस्या समाधान हुँदैन,’ वरिष्ठ नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

    ओलीले दाहाल बोल्दै गर्दा रोक्न खोजेपछि फेरि तनाव उत्पन्न भएको थियो । ‘त्यतिबेला दाहालले हाम्रो हैसियत समान हो, तपाईं पनि अध्यक्ष, म पनि अध्यक्ष, बैठकमा नबोले कहाँ बोल्ने भनेपछि ओली रोकिएका थिए,’ बैठक स्रोतले भन्यो । ओलीले दाहाललाई खुमलटार पुगेर साथीहरूलाई एउटा कुरा गर्ने, बालुवाटार आएर अर्को कुरा गर्ने, तपाईंको चरित्रले पार्टीमा विग्रह ल्याउन खोजेको भनेपछि दाहाल पनि कड्किएका थिए ।

    त्यसपछि बैठक अवधिभरि नै ओली दबाबमा परेको स्रोतले बताएको छ । सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलले केही धारणा नराखेपछि मंगलबारको बैठकमा दाहालले धेरै कुरा राखेका थिए ।

    स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा सबैले आफ्ना धारणा राखेर निचोड निकाल्नुपर्नेमा जोड दिएका थिए । ‘बैठक भनेकै बोल्ने ठाउँ हो, बोल्न प्रतिबन्ध लगाउने वा नदिने भन्ने कुरै आउँदैन,’ उनले भनेका थिए । नेपालले पार्टीभित्र अहंकार र दम्भ बढेको तथा सरकार बनेयताका गतिविधिलाई लिएर सबै नेताका विषयमा समीक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

    ‘सबैले बैठकमै आ–आफ्ना कमीकमजोरी र अहंकारबारे धारणा राखौं । कमजोरी कहाँकहाँ भयो, खोजौं । बैठक नै नबस्ने, कुराकानी नै नगर्ने, एकपछि अर्को कमजोरी गर्दै जाने हो भने समस्या समाधान हुँदैन,’ नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो । त्यहीक्रममा ओलीले बैठक रोक्न खोजेका थिए । 

    नेपालले आफ्नो कुरा नसकिएको र बैठक रोक्न किन हतार भएको भन्ने जवाफ दिएपछि ओली बसेको जनाइएको छ । ‘तपाईंहरुले मलाई बहुमतको दम्भ देखाउनुभएको ?’ भन्दै ओली कड्किएपछि फेरि केहीबेर विवाद भएको थियो ।

    ‘म यो अवस्थामा कसैको काँध चढेर आएको होइन, केही दिन कसैको बहुमत होला, यस्तो नगर्नुस् भनेपछि बामदेव गौतमले त्यसको प्रतिवाद गरेका थिए,’ बैठक स्रोतले भन्यो । ओलीले बैठकका सहभागीलाई सरकार घेराबन्दीमा परेको, सरकारमाथि षड्यन्त्र भइरहेको, बाहिर प्रतिगामीहरूले जुलुस निकालिरहेको भन्दै त्यसको जवाफ दिन तयार भएर बस्न आग्रह गरेका थिए ।

    ‘बैठकमा राम्रै सवालजवाफ भएको थियो । नेपालको भनाइ सकिएपछि गौतम र खनालले पनि आ–आफ्ना धारण राख्नुपर्ने भन्दै ओलीलाई बैठकबाट उठेर हिँड्न दिएनन्,’ स्रोतले भन्यो, ‘ओलीले आजको जस्तै धैर्य देखाए र आफ्नो व्यवहार सुधारे आधा समस्या नै सकिन्छ ।’

    बैठक स्रोतका अनुसार ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदन नभई आरोपपत्र भएकाले छलफल हुनै नसक्ने बताएका थिए । दाहालले त्यसको प्रतिवाद गर्दै ‘मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने तपाईं को हो ?’ भनेर प्रश्न गरेका थिए । त्यसपछि ओलीले सीमा र मर्यादाको विषय उठाउँदै बैठकमै रुलिङ गर्न खोजेपछि अन्य नेताहरूले पनि प्रचण्डलाई साथ दिएर ओलीलाई दबाबमा राखेका थिए ।

    प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठले बैठकमा कसैले कसैलाई रुलिङ गर्न नमिल्ने, कमिटीमा सबैको हैसियत बराबर हुने भनेर ओलीलाई सम्झाएका थिए । ईश्वर पोखरेलले पनि कम्युनिस्ट पार्टीमा बैठक बसेर नै छलफल गर्ने र सहमति खोज्नुपर्ने भएकाले बैठकमा सबै विषय छलफल हुने बताएका थिए । त्यसपछि मात्रै बैठक अघि बढेको थियो ।

    उपाध्यक्ष गौतमले बैठक तिक्तताबाट मित्रतातर्फ उन्मुख भएको प्रतिक्रिया दिए । ‘आजको बैठकमा धेरै विषय उठेका छन् । आज दाहालको कुरा ओलीले सुन्नुभएको छ । भोलि ओलीको कुरा दाहालले सुन्नुहुन्छ,’ उनले भने, ‘बैठकमा एकअर्काको कुरा सुन्न थालेपछि मात्रै समाधान निस्कने हो ।’ अब बुधवारको बैठक समस्यालाई निकासतर्फ लान सहयोगी हुने नेता गौतमले बताए ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको बैठकमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालले आ–आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अन्य सदस्यहरूले पनि सामान्य भनाइ राखेको उनले जानकारी दिए । उनले अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुँदै जाने बताए । उनका अनुसार बैठक बुधवार १ बजे पुनः बस्नेछ । पार्टीभित्र उत्पन्न संकटको खास कारण र त्यसको समाधानका विषयमा गम्भीर छलफल गर्दै जाने र यसबारे औपचारिक र अनौपचारिक दुवै तहमा छलफलहरू हुने उनको भनाइ छ ।

    मंगलबारको सचिवालय बैठकमा मंसिर १८ गतेलाई तोकिएको स्थायी कमिटीसहितको बैठक सार्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए । तर अर्का अध्यक्ष प्रचण्ड सहितका नेताहरूले त्यसलाई अस्वीकार गरे । प्रवक्ता श्रेष्ठले स्थायी कमिटीको बैठक नसर्ने बताएका छन् । नागरिक दैनिकमा खबर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend