काठमाडौं - सत्तारुढ नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि ठाकठुक परेको छ । ओलीले आफूखुसी मन्त्री नियुक्त गरेपछि प्रचण्ड असन्तुष्ट बनेका छन् ।
यही घटनाले प्रचण्ड अब बालुवाटार नजाने मनस्थितिमा पुगेका छन् । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न विवाद समाधानका लागि नेकपाभित्र छलफल जारी छ ।
विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई शनिबार बिहान संयुक्तरुपमा दुबै पक्षसँग छलफल गर्ने भन्दै निम्तो दिएका थिए ।
तर, प्रचण्डले आफू आउन नसक्ने जनाएपछि ओली आपतमा परेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरु काठमाडौंमा छन् ।
प्रचण्डले उनीहरूसँग छलफल गरिसकेका छन् । तर, ओलीले भने आज शनिबार समय दिएका छन् । स्रोतका अनुसार ओलीले बालुवाटारमा बिहान ११ बजे नेकपा कर्णालीका दुबै पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएको र त्यहाँ प्रचण्डलाई पनि आउन गरेको आग्रहको जबाफमा प्रचण्डले ‘तपाई आफैं छलफल गर्नोस्, उनीहरुको कुरा सुन्नुहोस् अनि आवश्यक परे हामी पछि बसौँला, सल्लाह गरौँला,’ भनेर सन्देश पठाएका छन् ।
ओलीले दुबै पक्षका मुख्यमन्त्री शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, सहइन्चार्ज यामलाल कँडेल, हालै प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, पार्टी पार्टी सचिव मायाप्रसाद शर्मासँगै अन्य नेताहरु प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायतलाई छलफलका लागि बोलाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।