काठमाडौं – संसदीय दलको बैठक नबस्ने भएपछि नीति तथा कार्यक्रम पास गराउन सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रमको कडा आलोचना गर्ने गरी शनिवार तयारी गरेपछि प्रधानमन्त्री ओलीले पनि प्रधानमन्त्रीनिवास बालुवाटारमा केही सांसदसँग स–साना समूहमा अलग–अलग छलफल गरेका छन् । पार्टीभित्रबाट सकेसम्म असहयोग नहोस् भन्ने प्रधानमन्त्री ओलीको चाहना छ ।
प्रतिनिधिसभामा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद टोपबहादुर रायमाझी लगायतका नेताहरुसँग प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमबारे सांसदहरूले राख्नुपर्ने धारणामा केन्द्रित रहेर परामर्श गरेका हुन् । पार्टीभित्र पर्याप्त छलफल नभई नीति तथा कार्यक्रम आएकोमा नेकपाका नेताहरू असन्तुष्ट छन् ।
उता, वरिष्ठ नेता माधवकुमार नेपालले पनि नीति तथा कार्यक्रमका साथै पार्टीभित्रको पछिल्लो अन्तरविरोध लगायतका विषयमा केन्द्रित रहेर स्थायी समिति सदस्यसमेत रहेका सांसद रायमाझीसहित स्थायी समिति सदस्य देवेन्द्र पौडेल र मणि थापासँग कोटेश्वरमा परामर्श गरेका छन् ।
दुवै छलफलमा सहभागी भएका सांसद रायमाझीले प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर सुझाव लिएको बताए । ‘नीति तथा कार्यक्रममाथि सुझाव लिन आन्तरिक छलफलका लागि बोलाउनुभएको हो, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालले पनि त्यसरी नै बोलाउनुभएकाले छलफल भएको छ,’ रायमाझीले भने, ‘दलको बैठक बस्ने परिस्थिति नभए पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रै रहेकाले त्यसउपर संसद्मा छलफल भएर पास गर्ने विषयमैै केन्द्रित रहेर छलफल भएको हो ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
वरिष्ठ नेता नेपालले भने पार्टीभित्र संस्थागत विधि र प्रक्रियालाई लत्याउने क्रम बढेको भन्दै पार्टीलाई एकताबद्ध ढंगले कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेर पनि नेताहरूसँग सुझाव लिएका छन् । नेताहरूसँगको छलफलमा नेपालले नीति तथा कार्यक्रम मूल रुपमा ठीकै भएपनि आर्थिक वर्षभित्र ठोस रुपमा गर्नेभन्दा पनि यसअघिको समीक्षा र १०–२० वर्षपछिसम्म गर्न नसकिने खालका विषयसमेत समेटेर भद्दा रूपमा ल्याइएको विचार राखेका थिए ।
उनले नीति तथा कार्यक्रमबारे तीनैजना नेताहरूसँग जिज्ञासासमेत राखेका थिए । छलफलमा सहभागी अर्का नेता देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि समर्थन वा विरोधमध्ये एक हुने भएकाले छलफलपछि पारित गर्ने गरी नै कुराकानी चलिरहेको बताए ।
‘संसदीय दलको बैठक नबसे पनि नीति तथा कार्यक्रमको पक्षमा पास गर्ने गरी नै छलफलअघि बढ्छ,’ पौडेलले भने, ‘नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा कि समर्थन हुन्छ, कि विरोध हुन्छ, आफ्ना व्यक्तिगत मत संसद्मा होइन, पार्टीभित्रकै आन्तरिक छलफलमा राखिन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।