काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण महामारीका बेला आर्थिक गतिविधिलाई भन्दा पनि कोरोना फैलिन नदिन लकडाउनमा कडाइ गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।
सरकारी सञ्चारमाध्यमदेखि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली लकडाउन बढाउने र कडा गर्ने पक्षमा उभिन्छन् । तर उनकै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडा भने प्रधानमन्त्री ओलीको अडानविरुद्ध बोल्दै रोगबाट बच्ने सँगसँगै आर्थिक गतिविधि पनि अगाडि बढाउनुपर्ने पक्षमा देखिएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले रोग र भोकविरुद्ध लड्न केही उद्योग खोल्नुको विकल्प नभएको तर्क राखेका छन् । खतिवडाले भोकसँग लड्न लकडाउन खुकुलो पारेर केही उद्योग खोलिएको बताए । लकडाउन खुकुलो पारिएकोप्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘हामीले आर्थिक क्रियाकलाप सुरू गरेनौं भने रोगबाट त बचिएला, भोकबाट बचिँदैन । यसमा सन्तुलित भएर अघि बढ्नुपर्छ,’ अर्थमन्त्री खतिवडाले संसदमा भने । चालू कार्यक्रमको निरन्तरता विषयमा सांसदहरूले प्रश्न गरेको बताउँदै खतिवडाले भने, ‘हामी एकातिर रोगसँग लड्नु छ भने अर्काेतिर भोकसँग लड्नु छ । यदि भोकसँग लड्नु छ भने भोकसँग सम्बन्धित आर्थिक क्रियाकलाप सूचारु राख्नैपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।