काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण यसपालि संसदको बजेट अधिवेशन ढिलो गरी आह्वान भएर संसदमा प्रिबजेट छलफल पर्याप्त हुन सकेन ।
प्रिबजेट छलफलभन्दा पहिले आउनुपर्ने सरकारको नीति तथा कार्यक्रम ल्याउन समेत ढिला गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
संवैधानिकमा भएको व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते बजेट आउनुपर्छ । त्यसको १५ दिन पहिले प्रिबजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको छ ।
संवैधानिक र नियमावलीको व्यवस्थाअनुसार यसपालि सांसदहरुले प्रिबजेट छलफल गर्न पर्याप्त समय पाएनन् । ४ दिन प्रिबजेट छलफल भएसँगै बुधवार सकिएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रिबजेटका क्रममा उठेका प्रश्नको जवाफ दिएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा प्रिबजेट छलफल सकिएको घोषणा गर्दै जवाफ दिन मन्त्री खतिवडालाई जवाफ दिन रोस्ट्रममा बोलाएलगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसदले बोल्न नपाएको भन्दै संसदमा हंगामा नै गरे । ओली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि गरिएको प्रिबजेट छलफलप्रति सत्तारुढ सांसद नै सन्तुष्ट हुन सकेनन् ।
नेकपा सांसद गंगा चौधरी सत्गौवाले आफूले प्रिबजेट छलफलमा बोल्न नपाएकोमा उभिएर आपत्ति जनाएकी छन् । उनले आफू निश्चित जातिको भएको र समानुपातिक सांसद भएकाले बोल्न नदिएको आरोप लगाइन् । ‘समानुपातिक सांसद हो, थारुको चेली हो बोल्न जान्दिनँ भनेर समय नदिइएको हो ?’ आक्रोशित भएकी उनले प्रश्न गरिन् ।
बोल्न नपाएका सांसद नारायणप्रसाद मरासिनीले ३ दिन बसेर पनि प्रिबजेट छलफलमा समय नपाएकोमा आपत्ति जनाए । ‘हामी पनि जनप्रतिनिधि हौं, हामीले पनि बोल्न पाउनुपर्छ,’ उनी आक्रोशित भए ।
अर्का सांसद प्रेम तुलाचनले आफूहरूले बोल्दा विवादित हुन्छ भनेर समय नदिइएको आरोप लगाएका छन् । सांसद नारायणप्रसाद खतिवडालगायतले पनि आपत्ति जनाएका छन् ।
सभामुख सापकोटाले भने दलीय आधारमा नाम आएको र समय सकिएकाले बोल्न दिन नसकिने भन्दै स्पष्टीकरण दिएका थिए । उनले सांसदहरूले उठाउका कुराप्रति ध्यानाकर्षण भएको र अर्कोपटक बोल्न दिने जवाफ दिए । घडी देखाउँदै सभामुख सापकोटाले ‘१५ दिन पहिला प्रिबजेट छलफल सक्नैपर्छ । दलीय आधारमा आएको नाम हो तपाईंहरू बसिदिनुस्’ भनेर आग्रह गरे । सांसदहरुले त्यति गर्दा पनि नमानेपछि सभामुख सापकोटाले पार्टीको संसदीय दलको बैठकमा कुरा उठाउन सुझाव दिएका थिए ।
केही सांसदले आफूहरूलाई दुर्गमका भनेर समय उपलब्ध नगराइएको भनिरहेका थिए । नेकपा सचेतक शान्ता चौधरीले हंगामा गर्ने सांसदलाई सम्झाएकी थिइन् । उनीहरुले अर्थमन्त्रीले जवाफ दिइरहँदा पनि बोलिरहेका थिए । ओली सरकारको कार्यशैलीले नेकपाभित्र असन्तुष्टि बढ्दै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।