काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र स्थायी कमिटी बैठक बोलाउने कि नबोलाउने भन्ने विवाद चलिरहेका बेला बुधवारका लागि बैठक बोलाइएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै २० स्थायी कमिटी सदस्यले बैशाख १० गते नै बैठक बोलाउन लिखित माग गरेका थिए ।
आफ्नो तीव्र आलोचना हुने संकेत पाएपछि स्थायी कमिटी बैठक टार्दै आएका ओली बुधवार बैठक राख्न सहमत भएका छन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बोलाइएको जानकारीसहित सूचना आएको स्थायी कमिटी सदस्य सत्यनाराण मण्डलले बताए । ‘छोटो समयमा बैठक भनेर सूचना आयो, त्यसैले काठमाडौं आउँदै छु,’ उनले भने, ‘देश र जनताभन्दा ठूलो कुरा केही छैन । अबको परिस्थितिमा कसरी जान सकिन्छ भनेर बैठकमा छलफल हुन्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
बैठकको जानकारी आएपछि काठमाडौं आउँदै गरेको सुनाउँदै मण्डलले नीति तथा कार्यक्रम, बजेट सहितका विषयमा छलफल हुने बताए ।
कोरोना भाइरसको संक्रमणबाट नेपालसहित विश्व नै प्रभावित भइरहेको भन्दै त्यसको कसरी सामना गर्ने जस्ता विषयमा पनि छलफल हुने उनले बताए ।
पार्टीभित्रैबाट सल्लाह सुझाव लिइएन भनेर गुनासो पनि आइरहेको सुनाउँदै उनले भने, ‘नीति तथा कार्यक्रम, बजेटसहितका विषयमा पार्टीले सुझाव लिन बैठक बोलाएको हो ।’
अर्का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले स्थायी कमिटी बैठक बोलाएको सूचना पाएको भए पनि एजेन्डाका विषयमा कुनै जानकारी नगराइएको बताए । कोरोना भाइरसको संक्रमण, नीति तथा कार्यक्रम बजेटसहित पार्टीभित्र धेरै विषय उठेको सुनाउँदै ज्ञवालीले भने, ‘विषय धेरै छन् तर अहिले यो यो विषय भनेर जानकारी गराइएको छैन । बैठकमै जानकारी गराउने होला ।’
पार्टीभित्र उठेका सबै विषयमा बैठकमा छलफल हुने ज्ञवालीको बुझाइ छ । पार्टीभित्र अन्तरविरोधका विषय बजेटपछि मात्र छलफल हुने दाबी गर्दै नेता मण्डलले भने, ‘बजेटपछि फरक ढंगबाट पार्टीभित्रका अन्य विषयमा छलफल हुनेछ ।’
प्रधानमन्त्री ओली संसद्बाट नीति तथा कार्यक्रम र बजेट पारित गराउन समस्या नहोस् भनेर मात्र बैठक राख्न सहमत भएका हुनसक्ने आशंका गर्दै असन्तुष्ट पक्षका एक नेताले भने, ‘नीति तथा कार्यक्रम नै असफल हुन्छ कि ? असहयोग हुन्छ कि भन्ने उहाँमा आशंका छ । नीति तथा कार्यक्रम र बजेट पारितपछि अन्य विषयलाई त्यत्तिकै टार्ने रणनीति हुनसक्छ ।’
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित असन्तुष्ट पक्षका नेता अहिले बजेटसहितका विषयमा मात्र छलफल गर्ने र अन्य विषयमा पछि छलफल गर्ने समझदारीअनुसार बैठक बोलाइएको अध्यक्ष ओलीनिकट एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफलबिनै राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद तीव्र बन्न पुगेको छ । विवाद समाधान गर्न पार्टीका नेताहरूले छलफललाई तीव्र बनाउँदै बैशाख २० गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठक २५ गते राख्ने गरी सहमतितर्फ अघि बढेको विश्लेषण गरिएको थियो ।
बैठकमा पेश गर्ने एजेन्डा टुंगो लगाउन २४ गते सचिवालय बैठक बोलाइएको थियो । बैठकमा ‘एक व्यक्ति एक पद’को विषयले प्राथमिकता पाएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बीचमै बाहिरिएपछि स्थायी कमिटी अनिश्चित बन्न पुगेको थियो ।
स्थायी कमिटीमा अल्पमतमा रहेका पार्टी अध्यक्ष ओलीको राजीनामा माग्ने सदस्यको तयारीपछि उनले बैठक टार्दै आएका थिए । प्रधानमन्त्री ओलीको पछिल्लो कार्यशैलीप्रति सचिवालय सदस्यहरू अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।