काठमाडौं – भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक उद््घाटन गरेको सञ्चारमाध्यममा समाचार आएपछि नेपाली राजनीतिक वृत्त तरङ्गित बनेको छ ।
जनस्तरमा आलोचना भएपछि सरकारले समेत औपचारिकता निभाउन वक्तव्यवाजी गरिरहेको छ तर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पहिल्यै थाहा हुँदाहुँदै पनि सडक निर्माण नरोकेको तथ्य सरकारी अधिकारीले नै बताइरहेका छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारीदेखि राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले भारतले सडक खनिरहेकोबारे सरकारलाई पहिल्यैदेखि थाहा भएको खुलासा गरेका छन् ।
भारतले सीमा अतिक्रमण गरेर सडक निर्माण गरिरहेको थाहा हुँदाहुँदै पनि चुपचाप बस्ने ओली सरकारलाई भारतले कडा जवाफ दिएको छ । नेपाली भूमि लिपुलेकसम्म सडक खनेको भनेर नेपाल सरकारले औपचारिक विज्ञप्ति जारी गरेपछि भारतले औपचारिक प्रतिक्रिया दिएको छ ।
सीमाको विषय समाधान गर्न कोरोना संक्रमणको महामारी नियन्त्रण भएलगत्तै दुई देशबीच परराष्ट्र सचिवस्तरीय वार्ता गर्न भारतले प्रस्ताव गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार विज्ञप्ति जारी गर्दै अहिले निर्माण भएको उद्घाटन भारतीय भूमिमा भएको दाबी गरेका छन् ।
भारतीय भूभागको बाटो कैलाश मानसरोवर जाने भारतीय रुट पहिलेदेखि नै सञ्चालनमा रहेको उनले स्मरण गराएका छन् । ‘पहिले त्यही बाटोलाई तीर्थयात्री, व्यापारी र पर्यटकहरूको सहजताका लागि निर्माण गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ । भारतले समेत सडक उद्घाटन भएको क्षेत्र पहिल्यैदेखि प्रयोग गरिरहेको दाबी गरेको छ । तर ओली सरकार भने चुपचाप बसिरहेको थियो ।
सीमासम्बन्धी विषय दुई देशका औपचारिक कूटनीतिक संवादमार्फत र नेपालसँगको निकट तथा मित्रवत् द्विपक्षीय सम्बन्धको भावनाअनुसार समाधान गर्न भारत प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।