काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको एजेन्डा चर्किएका बेला संसदमा समेत कुरा उठेको छ ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संघीय संसदको बर्खे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
राजनीतिक दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएको बताउँदै नेता भट्टराईले ‘फिर्ता लिइहाल्यो, भइहाल्यो भन्ने अवस्था नरहेको बताएका छन् ।
सांसद अपहरण प्रकरणमा प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको र उनीहरूविरुद्ध जाहेरी समेत नलिएको गुनासो समेत गरे । भट्टराईले अघि भने, ‘उल्टै हामीमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले फच्चे गर्न पहल गर्ने ?’
प्रधानमन्त्री ओलीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको बताउँदै उनले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका छन् ।
‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस्,’ उनले भने, ‘तपाईंले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईंले आराम दिनुपर्छ । लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।