इस्लामाबाद- पाकिस्तानमा संक्रामक रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याको बढ्दो भारले सार्वजनिक स्वास्थ्य प्रणालीमाथि गम्भीर चुनौती सिर्जना गरेको छ। हेपाटाइटिस, क्षयरोग, मलेरिया, एचआईभी र पोलियोजस्ता रोग नियन्त्रण गर्न कमजोर स्वास्थ्य पूर्वाधार तथा उपचार सेवाको सीमित पहुँच प्रमुख समस्याका रूपमा देखिएका छन्।
एसियन लाइटमा प्रकाशित प्रतिवेदनअनुसार पाकिस्तानमा हेपाटाइटिस सी संक्रमणको भार विश्वमै सबैभन्दा उच्च रहेको छ। विश्वभर हेपाटाइटिस सीबाट प्रभावितमध्ये करिब पाँचमध्ये एक व्यक्ति पाकिस्तानमा रहेको प्रतिवेदनमा उल्लेख छ।
पाकिस्तानको स्वास्थ्य मन्त्रालयका तथ्याङ्क उद्धृत गर्दै प्रतिवेदनले मानसिक स्वास्थ्यसम्बन्धी समस्या, हेपाटाइटिस बी तथा सी र एचआईभीबाट प्रभावित जनसङ्ख्या ४ करोड ५० लाखभन्दा बढी रहेको जनाएको छ।
प्रतिवेदनअनुसार पाकिस्तानमा एचआईभी संक्रमितको सङ्ख्या सन् २०२६ मा ४ लाख १७ हजार नाघेको छ। पछिल्लो १८ महिनामा करिब ३ हजार ९०० बालबालिका एचआईभी संक्रमितका रूपमा दर्ता भएको उल्लेख गरिएको छ। विगत डेढ दशकमा नयाँ एचआईभी संक्रमणमा करिब २०० प्रतिशत वृद्धि भएको प्रतिवेदनको दाबी छ।
असुरक्षित चिकित्सकीय सुईको प्रयोग, निःसंक्रमण नगरिएका उपकरण, परीक्षण नगरिएको रगतको प्रयोग तथा अप्रशिक्षित स्वास्थ्यकर्मीलाई संक्रमण फैलिनुका प्रमुख कारणका रूपमा औँल्याइएको छ।
सबैभन्दा चिन्ताजनक पक्ष संक्रमितमध्ये ठूलो सङ्ख्याले आफूमा एचआईभी संक्रमण रहेको जानकारी नपाएको र उपचार सेवासमेत प्राप्त गर्न नसकेको अवस्था हो। प्रतिवेदनअनुसार एचआईभी संक्रमितमध्ये करिब ८० प्रतिशत आफ्नो संक्रमणबारे अनभिज्ञ छन् भने करिब १६ प्रतिशतले मात्रै उपचार प्राप्त गरेका छन्।
हेपाटाइटिस सी नियन्त्रणमा पनि पाकिस्तानले कठिनाइ सामना गरिरहेको छ। प्रारम्भिक परीक्षण तथा निदान सुविधाको अभाव, उपचार सेवामा सीमित पहुँच र असुरक्षित स्वास्थ्य अभ्यासका कारण संक्रमण नियन्त्रणमा समस्या देखिएको छ।
त्यस्तै, पाकिस्तानमा मानसिक स्वास्थ्य सेवाको अवस्था पनि कमजोर रहेको प्रतिवेदनले उल्लेख गरेको छ। मानसिक स्वास्थ्य उपचार आवश्यक पर्ने ३ करोड २० लाखभन्दा बढी जनसङ्ख्यामध्ये करिब पाँच प्रतिशतले मात्रै आवश्यक सेवा प्राप्त गरिरहेको जनाइएको छ। देशभर करिब १ हजार ५० जना मनोचिकित्सक मात्रै उपलब्ध रहेको तथ्याङ्कसमेत प्रस्तुत गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले हेपाटाइटिस तथा एचआईभी नियन्त्रणका लागि परीक्षण, सुरक्षित चिकित्सकीय अभ्यास, उपचार र निरन्तर निगरानीलाई महत्त्वपूर्ण मानेको छ। पाकिस्तानमा पनि यी सेवाको विस्तार तथा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि आवश्यक देखिएको छ।
संक्रामक रोग राष्ट्रिय सीमाभित्र सीमित नरहने भएकाले पाकिस्तानको स्वास्थ्य चुनौती क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य सुरक्षासँग समेत जोडिएको प्रतिवेदनले औँल्याएको छ। - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।