काठमाडौँ । धनगढीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या ३३ पुगेको छ।
सोमबार बिहान करिब ६ बजेर ४० मिनेटमा कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटनामा परेको हो। चालकले नियन्त्रण गुमाउँदा बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितका अनुसार दुर्घटनामा बालबालिका तथा वृद्धवृद्धासहित ३३ जना यात्रु घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा दार्चुलाका केशव धामी (३२), प्रतीक्षा धामी (९), दयाकृष्ण जोशी (३४), नविना भट्ट (१४), रोहित लोथेल (२०) र श्रुति जोशी (७) घाइते भएका छन्।
यस्तै, बैतडीका धाना चन्द (७८), प्रेमबहादुर चन्द (३९), डम्बरबहादुर माली (३७), राजेन्द्र जोशी (३१), भागरथी जोशी (३०), रेणुका जोशी (२) र महेश बीसी (२१) घाइते भएका छन्। यसैगरी, कैलालीका शिवदत्त राना (३९), महेश पाण्डे (३२), खेमा मल्ल (१९), शोभा मल्ल (२८), जेनी राना (२०), चाँदनी खत्री (२२) र जानु चौधरी (२०) तथा डडेल्धुराका रोहित लोथेल, डम्बरसिंह साउद (४२), गीता कठायत (४०), रक्षा कठायत (२०), पुष्पा भाट (२०) र पवित्रा रावल (२३) घाइते भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरका वसन्त बलायर (३०) र प्रिया साउद (२५), डोटीका अमित साउद (१७), अङ्कित यादव (१८), ज्योति बुडाल (२४) र धीरज बुडाल (१५) तथा धनुषाका भानु यादव (१८) पनि दुर्घटनामा घाइते भएका छन्। प्रहरीले दुर्घटनामा संलग्न बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारूलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाएर किनारमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।