काठमाडौं । भ्रष्टाचार र वेथितीविरूद्ध जेन्जीहरूले बगाएको रगत सुक्न नपाउँदै पुरानै प्रवृत्तिहरूको निरन्तरता र पुनरावृत्ति नेपाल टेलिभिजनमा देखिएको छ । सार्वजनिक प्रसारण हुनुअघि नेपाल टेलिभिजनको महाप्रबन्धक रहेका फूलमान बल तामाङले नेकपा एमाले निकटका कर्मचारी भर्ती कार्यलाई पनि जारी नै राखेका छन् । हाल उनी सार्वजनिक प्रसारण संस्थाका सञ्चालक समिति सदस्य हुन् ।
आफू महाप्रबन्धक हुँदा सर्वप्रथम आफुले निर्देशन गरेको चलचित्रको हिरोइन शान्ति वाइवालाई तामाङ भाषा समाचार वाचकमा नियुक्ति दिए । त्यसपछि लगातार अन्य कार्यक्रमहरू गर्न पनि उनै शान्तिलाई थप्दै गए । यतिसम्म कि नेपाल टेलिभिजनको ३९ वार्षिकोत्सवमा खाजाका प्याकेटहरू मगाउदा रू ३५०/= मा सिंहदरवार छेउ मै रहेको एक रेष्टुरेन्टबाट मगाउन उपयुक्त हुने भनि उपसमितिले गरेको सिफारिस विपरित महाप्रबन्धक फूलमान बलको हस्तक्षेपमा उनको चिनजान रहेको महाराजगञ्जको इन्द्रेणिबाट बासी, नपाकेको र गुणस्तरहीन खाजा प्याकेट रु. ४००/= मा मगाइएको थियो । ५०० प्याकेट खाजा मगाउने भनेकोमा कर्मचारीको न्यून उपस्थिति भएको कार्यक्रममा पनि करिव सय जनालाइ खाजा अपुग भएको थियो । संस्थानको उच्च पदस्त मान्छेले यस्तो सामान्य विषयमा अनावश्यक चासो एवं हस्तक्षेप गर्छन भने ठूला खरिदको अवस्था कस्तो होला!? आफू निकटका केही नामुद भ्रष्ट कर्मचारीहरुसङ्ग मिलि उप्ल्लो तहमा बस्नेले टेलिभिजन लुटने र कार्यकर्ता पोष्ने काम गर्दै आएको छ ।
यसैगरी एनटिभी इटहरीमा कार्यरत रिपोर्टर दुर्गा खड्कालाई सासु विरामी भएको बाहनामा केही दिनको लागि केन्द्रीय कार्यालय काठमाडौमा कार्य गर्ने गरी ल्याए तर करिव ५ वर्ष वित्दा पनि कहिल्यै फिर्ता पठाएनन् । यसरी विनियमावली विपरितको कार्यलाई अख्तियारले बदर गर्न ताकेता गरेपछि उनको करार बदर भएपनि इटहरी जान मानिनन्। फूलमान वलको आडमा जागिर जाँदा पनि निरन्तर कार्यालय आइरहिन र न्यूजरूमका हाकिमहरूलाई आफु फर्केर आउने धम्की दिइरहिन। अन्तत भयो पनि त्यस्तै ।
डा. महेन्द्र विष्ट दोस्रो कार्यकालको लागि कार्यकारी अध्यक्ष भएर आएपछि आफ्ना नियुक्तिकर्ता केपी ओलीको सपना साकार पार्न एनटिभी वर्ल्ड च्यानलको संचालनलाई तीब्रता दिए । उनले एमालेको लेबी तिर्ने कार्यकर्ता एवं विगतमा काँग्रेस निकट कार्यकारी अध्यक्ष समीरजंग शाहलाई असफल बनाउन, एनटीभी वर्ल्ड संचालनको लागि सरकारले विनियोजन गरेको करिव १५ करोड बजेट नेपाल टेलभिजनलाई दिनुहुँदैन भनि तत्कालिन मन्त्री रेखा शर्मासँग लविङ गरेका थिए । हाल एमाले निकट कर्मचारी टंक उप्रेतीलाई च्यानल प्रमुखमा नियुक्त गरे भने एनटीभी वर्ल्ड च्यानलमा कर्मचारी भर्तीको जिम्मेवारी फूलमान बललाई दिए । नीति निर्माण गर्ने बोर्ड सदस्यलाई कर्मचारी छनौट गर्ने जिम्मेवारी चाही अध्यक्ष विष्टले एमाले भएकै कारणले दिएको भन्दै अन्य कर्मचारीहर आक्रोशित बनेका छन् । फूलमान बलले पनि एनटीभीमा कार्यरत एमाले निकट कर्मचारीहरू मात्र सम्मिलित कर्मचारी छनोट समिति बनाए ।
अनि फुलमान वलले करिव आधा दशक बढी रिपोर्टिङ् काम गरेकी तीनै दुर्गा खड्कालाई दृश्य सम्पादकमा नियुक्त गरे । टू डी र थ्री डी ग्राफिक्समा पनि निपूर्ण हुनुपर्ने भनि विज्ञापनमा माग गरे पनि सो कुराको कुनै ज्ञान नभएकी खड्कालाई नियुक्त गरी विभिन्न टेलिभिजन च्यानलहरू र नेपाल टेलिभिजनमै दृश्य सम्पादकको रूपमा लामो समय काम गरीसकेका अनुभवि दृश्य सम्पादकहरूलाई लत्याइएको थियो । रोचक कुरा के छ भने हाल खड्काले दृश्य सम्पादन गर्न सकिनन् भनेर उनलाई अन्यत्र सारेर उनको ठाउँमा अर्कै व्यकि ल्याउने प्रकृया सुरू भैसकेको छ। त्यसैगरी विगतमा सामान्य इन्जिनियरिङ्ग शाखा अन्तर्गतको इन्जेष्टमा (भिडियो कपि गर्ने) काम गर्न नसकेर लेखा, प्रशासन हुँदै जागिरबाट हटाइएकि फूलमान वलका निकट मित्रकी धर्मपत्नी भगवती वस्नेतलाई फेरि ल्याउन फूलमान वलले तत्कालीन इन्जिनियरिङ् महाशाखा प्रमुखसङ्गको मिलेमतोमा निजलाई स्विचिङको अनुभवपत्र इन्जिनियरिङ्ग महाशाखाबाट बनाउन लगाएको र सो कै आधारमा स्वीचिङ्को बैकल्पिक एक नम्वरमा नाम निकाल्न लगाएर हाल उनलाई पनि नियुक्ति दिने प्रकृया अघि बढेको सुनिन्छ ।
सोही प्रयोजनका लागि भगवतिका पतिको नेपाल टेलिभिजनमा आवतजावत बाक्लिएको कुरा कर्मचारीहरू बताउँछन्। नियमानुसार कर्मचारी प्रशासनले दिने अनुभवको पत्र कर्मचारी प्रशासन प्रमुख रमेश मिश्रले गलत पत्र नबनाउने अडान लिएपछि तत्कालिन इन्जिनियरिङ् महाशाखा प्रमुख सुरज थापाले उक्त अनुभव पत्र बनाइदिएको थियो ।
प्रारम्भमा २०७९/०६/२६ देखि बस्नेतलाई सामान्य इन्जिनियरिङ्ग शाखा अन्तर्गत कार्य गर्न खटाइएको थियो । नेपाल टेलिभिजनका स्विचरहरू सामान्य इन्जिनियरिङ शाखा अन्तर्गत पर्दैनन । त्यसैगरी २०७९/०६/२६ गते देखि सामान्य इन्जिनियरिङ्ग शाखामा कार्य गर्न खटिएको कर्मचारीको अनुभव पत्र भने २०७९/०६/११ गते देखिको बनेको कुरा पनि त्रुटिपूर्ण देखिन्छ । यस्तो त्रुटिपूर्ण कागजातको आधारमा आवेदन लिने कुरा नै गलत भएता पनि फूलमानको दवावमा सबै मौन रहेको देखिन्छ । यसैगरी बलकै पहलमा एनटीभीकै कर्मचारी एवं फूलमानका निकट मित्र दीपक समीरले आफ्ना भतिज कमल आचार्यलाई पनि जागिर दिलाउन सफल भएका छन् ।
सबैभन्दा रोचक विषय त जेन्जी आन्दोलन पछि आफन्त भर्ती गर्न गाह्रो पर्ने देखेर भाद्र २६ गते नीजहरूलाई भाद्र २१ गतेको मिति राखेर ब्याकडेटमा नियुक्ती दिइएको थियो । अध्यक्ष विष्टले सञ्चालक समिति सदस्य फूलमान वललाई कार्यकक्षदेखि नियमित यातायात सुविधा सम्म निर्वाध उपलब्ध गराउँदै आएका छन्। यस्तो प्रचलन विगतमा नरहेको सामान्य सेवा शाखा सुत्रले जानकारी दिएको छ ।
यसरी राष्ट्रको प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी च्यानल संचालन गर्न कार्यकर्ता एवं आफन्तहरूबाट कति सम्भव होला, अर्कोतर्फ भ्रष्टाचार बिरोधी आन्दोलनबाट गठीत सरकारले पनि यस्ता गम्भीर विषयमा चासो नदिनु चिन्ताको विषय भएको छ । हाल सञ्चालित ५ वटा च्यानल धरासायी हुँदै गइरहेको र कर्चारीहरूलाई तलव खुवाउन पनि हम्मेहम्मे परिरहेको बेलामा च्यानल माथि च्यानल थप्ने र च्यानल थप्ने नाममा अनावश्यक उपकरण खरिद कार्यले संस्थालाई समाप्तिको मार्गमा लैजाने कुरा मात्र रहेको कर्मचारीहरूको दावी छ।
विगतमा कार्यकारी अध्यक्ष विष्टकै नेतृत्वमा इमेज च्यानलमा काम गरिसकेका जगदीश खरेल सञ्चार मन्त्री भएकैले जे गर्न पनि विष्टलाई छुट भएको टिप्पणी भ्रष्टाचार विरोधी कर्मचारीहरूको छ भने जेन्जी आन्दोलनले पनि कुनै परिवर्तनको आशा दिन नसकेकोले कर्मचारी बृत्तमा चरम निराशा व्याप्त छ । भ्रष्टाचार र बेथिति मच्चाइरहेका केपी ओलीका विश्वास पात्रहरुलाई राज्यको सञ्चार माध्यमलाई मुक्त गरी स्वतन्त्र र व्यवसायिक नेतृत्व स्थापित गर्न सके मात्र सार्वजनिक प्रसारण संस्थाले सार्थकता पाउने देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।