काठमाडौं - राष्ट्रिय सभामा जान नेपाली कांग्रेसका चार नेताले समानुपातिक सूचीबाट आफ्नो नाम झिकेका छन् ।
समानुपातिक सूचीमा भएकाहरु राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार हुन नपाउने आयोगले नियम बनाएपछि उनीहरुले आफ्नो नाम निकालेका हुन् ।
समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ ।
समानुपातिकको सूचीबाट नाम निकाल्नेहरुमा गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, बालकृष्ण पाण्डे र अब्दुल सतार छन् । उनीहरु गत वर्ष भएको प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार बनेका थिए ।
राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ नौ र राष्ट्रपतिबाट मनोनीत एक गरी १० सांसद पाउने गठबन्धनमा सहमति भएको छ । त्यसैले कांग्रेसले यी चारै नेतालाई समानुपातिकबाट नाम झिक्न लगाएका हुन् ।
गोपालमान र अब्दुल सतार गण्डकीबाट राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्ने बुझिएको छ । ढुंगाना मधेस प्रदेश र पाण्डे लुम्बिनीबाट उम्मेदवार बन्ने बताइन्छ । फागुन २० मा राष्ट्रिय सभाका निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक गरी २० जना सांसदको कार्यकाल सकिँदैछ ।
१९ सांसदका लागि निर्वाचन आयोगले माघ ११ मा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगले अहिले दल दर्ता र पुसमा उम्मेदवार मनोनयन दर्ताको समय तोकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।