काठमाडौं - पूर्वराष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेसको भविष्यका बारेमा दिएका अभिव्यक्ति विवादमा परेको छ ।
चुनावको मुखमा कांग्रेसको भविष्य रामराम भन्नुपर्ने अवस्थामा पुगेको अभिव्यक्ति दिएपछि यादव विवादमा मुछिएका हुन् । उनले बिहीबार काठमाडौंमा आयोजित बिपी जयन्तीका अवसरमा कांग्रेस अहिले एक्लै चुनाव लड्ने अवस्थामा नरहेको, अन्य दललाई अंशबन्डा लगाउनुपर्ने अवस्थामा पुगेको भन्दै कांग्रेसको भविष्य रामराम भन्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
पाँचदलीय गठबन्धनमा सिट बाँडफाँडको रस्साकस्सी चलिरहेका बेला यादवले विपक्षीलाई फाइदा हुने गरी किन बोले भन्ने चासो उत्पन्न भएको छ ।
जबकि उनी आफैं कांग्रेसको महामन्त्रीसमेत भइसकेका हुन् । गिरिजाप्रसाद कोइरालाको खल्तीबाट महामन्त्री बनेका यादव सधैं शेरबहादुर देउवाको विरोध गरिरहन्छन् ।
कांग्रेसको १२औं महाधिवेशनमा सुशील कोइरालालाई सभापति जिताउन र देउवालाई हराउन उनले धनुषाका महाधिवेशन प्रतिनिधिलाई शीतल निवासमा भोज खुवाएका थिए ।
अहिले पनि उनी डा.शेखर कोइरालाको पक्षमा छन् । त्यही भएर देउवालाई कमजोर देखाउन उनले कांग्रेसको भविष्य सकिएको बताएका हुन् ।
जबकि हालै सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले तीन सय २८ स्थानीय तह जितेको छ । पूर्वराष्ट्रपति यादवलाई कांग्रेस नेता गोपालमान श्रेष्ठले काउन्टर दिएका छन् ।
नेपाली कांग्रेस कम्युनिस्टहरुको पोल्टामा गएको भन्दा पनि कम्युनिस्टहरु कांग्रेसको पोल्टामा आएको दाबी गरेका छन् । ‘हिजो रामवरण यादवजीले कुन सन्दर्भमा राम राम भन्नुभयो ? तर कांग्रेस रामनाम भन्ने अवस्थामा पुगेको छैन । रामवरणजी निराश या हतास हुनुपर्ने अवस्था छैन ।
अहिले पनि हामी कम्युनिस्टको पोल्टामा गएका छैनौं, कम्युनिस्टलाई हाम्रै पोल्टामा ल्याएका छौं,’ बिहीबार एक रेडियो अन्तर्वार्तामा उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।