काठमाडौं- सुरक्षा निकायमा काम गरी उच्च पदबाट अवकाश पाएका पाँचजना प्रहरी अधिकारीहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन् । पूर्वप्रहरी महानिरीक्षकसहितका विगतका चर्चित प्रहरी अधिकारी चुनावी दौडमा लागेका हुन् । जसमा पूर्वआइजिपी ध्रुवबहादुर प्रधान, पूर्वआईजी सवेन्द्र खनाल, सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ, नेपाल प्रहरीका पूर्वडिआइजीद्वय नवराज सिलवाल र रमेश खरेल छन् । प्रहरी संगठनको नेतृत्वमा रहेका यी पाँचैजना पूर्वप्रहरी दाग लागेका व्यक्ति हुन् । उनीहरू आ–आफ्ना कर्मका कारण चर्चा र विवादमा आउने गरेका थिए । सबैको छविमा केही न केही दाग लाग्ने गरेको छ ।
पूर्वआइजिपी प्रधानले पश्चिम नवलपरासी २ मा उम्मेदवारी दर्ता गरेका छन् । उनी राप्रपाबाट चुनावी मैदानमा छन् । जहाँ कांग्रेसबाट देवेन्द्रराज कँडेल तथा एमालेबाट दीपेन्द्र अधिकारी उनका प्रतिस्पर्धी छन् । करिब २० वर्ष सक्रिय राजनीति गर्दा पनि उनी संसदमा पुग्न सकेका छैनन् । यो क्षेत्रबाट कांग्रेसका कँडेलले चुनाव जित्दै आएका छन् । यसपटक सत्ता गठबन्धनका कारण प्रधानको सांसद बन्ने सपना तुषरापात हुने भएको छ ।
सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ पनि राजनीतिमा उत्रिएका छन् । काठमाडौं– ४ मा उनी राप्रपाको उम्मेदवारका रूपमा प्रतिस्पर्धामा होमिएका हुन् । यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका गगन थापा र एमालेबाट डा. राजन भट्टराई उम्मेदवार छन् । कांग्रेसका महामन्त्री थापासँग भिड्न आइपुगेका श्रेष्ठको अहिले चर्चासमेत छैन ।
पूर्वडिआइजी सिलवाल निवर्तमान सांसद पनि हुन् । उनी ललितपुर १ बाट विजयी भएका थिए । प्रहरीमा रहँदा कांग्रेस नेताको दौराको फेर समाएर उच्च अधिकृत बनेका नवराज आइजी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा बाधक बनेको भन्दै प्रहरी सेवा छाडेर एमाले प्रवेश गरेका थिए । त्यही पार्टीबाट सांसदमा विजयी भए । तर, यसपटक उनको हार सुनिश्चित जस्तै देखिएको छ । माओवादी र कांग्रेसको गठबन्धन भएकाले कांग्रेस उम्मेदवार उदयशमशेर राणाले धेरै मतले जित्ने प्रक्षेपण गरिएको छ ।
पूर्वआइजी खनाल पनि एमालेबाटै उम्मेदवार बनेका छन् । एमालेले उनलाई काठमाडौं ६ बाट उम्मेदवार बनाएको छ । खनाल निकै विवादास्पद व्यक्ति हुन् । उनले प्रहरीमा हुँदा धेरै जीवन ध्वस्त बनाएका थिए । कुमार घैंटेलाई इन्काउन्टर गरे । सागर थापालगायतका चर्चित आठ फुटबलरलाई मिलेमतोको आरोप लगाएर जेल लगे । उनीहरू करियर नै ध्वस्त बन्यो । अन्तिममा सर्वोच्च अदालतले उनीहरूलाई सफाइ दियो ।
प्रहरीबाट रिटायर्ड भएपछि उनको कुकर्म रोकिएन । प्रहरीमा हुँदा चोरीका गाडी पक्राउ गरी कमिसन खाने र सुनको सुराकी गरेर सर्वेन्द्रले करोडौं कमाएका थिए । दुई वर्षअघि उनी सांसद अपहरणमा मुछिए । तत्कालीन जसपाका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याएको अभियोग उनीमाथि लाग्यो । त्यसैले उनी दागी व्यक्ति हुन् । कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले दागीलाई होइन, सादगी रोजौं भनेर नारा नै बनाएका छन् ।
पूर्वडिआइजी रमेश खरेल पनि निकै विवादित व्यक्ति हुन् । उनलाई लहडमा चल्ने पूर्वप्रहरी अधिकृत भनेर चिनिन्छ । वामदेव गौतम गृहमन्त्री हुँदा आफूले ब्रिफकेस नबुझाएकाले प्रमोसन नभएको भनेर उनले सार्वजनिक रूपमै भनेका थिए । आफ्नी श्रीमतीलाई सुराकी बनाएर उनले धेरै सुन समातेको कमिसन लिएको समाचार आइसकेका छन् । उनी चोरीका कार समातेर धेरै कमिसन लिनेमा पर्छन् । अहिले उनी कांग्रेसका प्रकाशमान सिंहसँग टक्कर लिन काठमाडौं १ मा आएका छन् । उनी सुशासन पार्टीबाट अध्यक्ष पनि हुन् । यो क्षेत्रमा कांग्रेसका सिंह र राप्रपाका रवीन्द्र मिश्रबीच कडा भिडन्त हुने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।