काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि अहंकार देखाए कांग्रेसलाई ठेगान लगाइदिने चेतावनी दिए। स्थानीय तहको निर्वाचनमा कांग्रेसकै भोटको जगमा धेरै पालिका माओवादीले जितेको थियो। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहाल कांग्रेसकै भोटले विजयी भएकी थिइन्।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अवस्था पनि उस्तै रह्यो। अघिल्लो निर्वाचनमा भन्दा धेरै स्थानीय तह जितेको माओवादी चुनाव पछि भने कांग्रेसका प्रति आक्रमक बनेको छ। एक हिसाबले भन्ने हो भने माओवादीका अध्यक्ष प्रचण्डलाई चुनावपछि ‘चर्बी’ चढेको छ। र, कांग्रेसलाई गाली गरेर उनले त्यो चर्बी पगाली रहेका छन्।
तर, २०७४ सालमा कांग्रेसलाई धोका दिएर एमालेसँग बाम गठबन्धन गरेपछिका तीन बर्ष उनले तनावमा विताउनुपरेको थियो। तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको दुःख उनले कांग्रेस नेताहरुसँग पोखेका थिए। खासगरी ओलीले प्रतिनिधिसभा विघठन गरेपछि प्रधानमन्त्री बनिदिन कांग्रेस सभापति शेरबहादुर देउवासँग विन्ति बिसाएका थिए।
देउवा निवास बुढानिलकण्ठ पुगेर उनले देउवासँग विन्ति बिसाएका थिए। त्यही बेला उनलाई कांग्रेस नेता रामचन्द्र पौडेलले कडा प्रश्न गरेका थिए। जसको खुलासा नेपाल समयसँगको अन्तर्वार्तामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गरेका छन्।
‘एकपटक के भएको थियो भने संसद् विघटनको भएको बेला बूढानिलकण्ठमा हामी छलफलमा थियौं। त्यसबेला कमरेड प्रचण्डले केपी ओलीजीले यसो गर्नुभयो, उसो गर्नुभयो भन्दै हुनुहुन्थ्यो,’ शर्माले भनेका छन्, ‘त्यहीबेला रामचन्द्र दाइले ‘केपीले यसो गर्छन्, उसो गर्छन् भन्ने थाहा हुँदाहुँदैँ मिल्नु चाहीँ किन भएको थियो त?’ भनेर प्रश्न गर्नुभएको थियो। लगत्तै जवाफमा प्रचण्डले भन्नुभएको थियो, ‘मैले ज्ञान पाएँ।’ प्रचण्डजीमा त्यो ज्ञानको प्रकाश अहिले पनि जीवित छ भन्ने लाग्छ।’
ओलीले दिएको दुःख बुढानिलकण्ठमा मलिन अनुहार बनाएर सुनाएका प्रचण्ड अहिले कांग्रेसप्रति नै आक्रमक बन्नु नैतिक हिसाबले ठिक नभएको चर्चा अहिले राजनीतिक बजारमा चलिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।