काठमाडौं- अन्ततः पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खल्तीबाट प्रस्तुत भएको केन्द्रीय कार्यसमिति सदस्यको नाम पास गरेर माओवादी केन्द्रको आठौं महाधिवेशन आठै दिनमा सकिएको छ ।
महाधिवेशन कस्तो हुन्छ हामी देखाउँछौं भनेर एमालेको १०औं महाधिवेशनलाई ‘ओलीवेशन’ भनेका प्रचण्डले पार्टीको महाधिवेशनमा गज्जबकै गाईजात्रा गरेर देखाएका छन् ।
प्रचण्डले वाचन गरेको नाम बन्दसत्रले अनुमोदन गरेको हो। प्रचण्डले ताली बजाउनुस् भने प्रतिनिधिले ताली बजाए, माओवादी महाधिवेशन सकियो ।
दुई सय ९९ केन्द्रीय कार्यसमितिमा उनले दुई सय ३६ जनाको टुंगो लगाएका छन् । ६३ जना भने कसलाई राख्ने भनेर प्रचण्डले नाम नै भेटाउन सकेनन् । माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिमा अधिकांश नेताले श्रीमती, भाइभतिजा, छोरीज्वाइँको भेला गराइएको छ ।
एउटै परिवारका चार–पाँचजनासम्म आफन्त छन् । प्रचण्डले आफ्ना भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई केन्द्रीय सदस्य बनाएका छन्।
अर्थमन्त्री जनार्दन शर्मा र उनका कान्छा भाइ अनिल शर्मा, बहिनी नारायणी शर्मा तथा ज्वाइँ ओमनाथ ढुंगाना केन्द्रीय सदस्य चयन भएका छन्। वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीमगर तथा बहिनी लालकुमारी पुन केन्द्रीय सदस्य चयन भएका छन्।
शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीसँगै बस्नेतकी बहिनी ज्ञानु बस्नेत र ज्वाइँ सूर्य सुवेदी केन्द्रीय सदस्य बनेका छन्। कुलप्रसाद केसी र उनकी पत्नी तारा घर्तीमगर, देव गुरुङ र उनकी पत्नी यशोदा सुवेदी, धर्मनाथ साह र उनकी पत्नी सीता पोखरेल, मन्त्री शशी श्रेष्ठ र उनका पति लीलामणि पोखरेल, खगराज भट्ट र उनकी पत्नी मञ्जु बम, हितमान शाक्य र उनकी पत्नी अमृता थापामगर, गणेशमान पुन र उनकी पत्नी कमला रोकामगर ,देवेन्द्र पौडेल र उनकी पत्नी बलावती शर्मा, पूर्वमन्त्री रेखा शर्मा र उनका पति कृष्णध्वज खड्का केन्द्रीय सदस्य भएका छन्।
पूर्वखेलकुदमन्त्री दलजित श्रीपाइली र उनका भतिजा सुबोध श्रीपाइली दुवै केन्द्रीय समितिमा चयन भएका छन्।
त्यसैगरी दामा शर्मा र उनका भाइ हेमराज शर्मा, रामदीप आचार्य केन्द्रीय सदस्य मायाप्रसाद शर्माका भाइ हुन्। रामदीपकी पत्नी कृष्णा शाहसमेत केन्द्रीय सदस्य बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।