आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा १० बुँदेका पछाडि लुकेको यस्तो गोप्य सहमति, भीम रावलले गरे खुलासा

एमालेमा १० बुँदेका पछाडि लुकेको यस्तो गोप्य सहमति, भीम रावलले गरे खुलासा

  • मिडिया डबली
  • सोमवार, कार्तिक १५ २०७८

  • 4.6K
    SHARES

  • एमालेमा १० बुँदेका पछाडि लुकेको यस्तो गोप्य सहमति, भीम रावलले गरे खुलासा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला अर्को सहमतिको खुलासा भएको छ ।

    एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि २ अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।

    उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी गठन भएको कार्यदलको संयोजकबाट आईतवार दिएको लिखित राजीनामा पत्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्काे अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।

    पार्टीमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो नदिएको र उल्टै सहमतिको औचित्य सकिसकेको बताएपछि उपाध्यक्ष रावलले उच्चस्तरीय कार्यदलबाट राजीनामा दिँदै अर्काे सहमतिको खुलासा गरेका छन् ।

    असार २७ गते भएको १० बुँदे सहमतिका बुँदामा २ अध्यक्ष बनाउने विषयमा केही उल्लेख छैन । १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि तेस्रो धारका नेताहरु नेपालको साथ छोडेर एमालेमै बसेका थिए ।

    सहमति कार्यान्वयन गर्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेर अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी हुँदा समेत अध्यक्ष ओलीले १० बुँदे औचित्यहीन भएको बोल्ने गरेकाले आफूले राजीनामा दिएको रावलले बताएका छन् ।

    उपाध्यक्ष रावलले बुझाएको राजीनामा पत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘१० बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीमा २ जना अध्यक्षको व्यवस्था गर्ने सहमति समेत भएको थियो । यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र म समेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रुपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’

    सहमतिबारे नेपाललाई जानकारी गराउने तथा भोलिपल्टै २ जना नेताबीच कुराकानीका लागि स्थान निर्धारण गर्ने जिम्मेवारी आफूले पाएको उनले दाबी गरे । सोही निर्णयबारे नेपाललाई जानकारी गराउनुका साथै कुराकानीका लागि स्थानबारे कुरा भएको तर भोलिपल्ट पुष्पलाल स्मृति दिवस परेकाले दुबै जना नेताहरु कार्यक्रममा व्यस्त रहने स्थिति हुँदा कुराकानी हुन नसकेको रावलले बताए ।

    उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् । यसअघि उनले मौखिक रुपमा राजीनामा दिने उद्घोष गरेका थिए । लिखित राजीनामा दिएका रावलले सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको बताएका छन् ।

    रावलले राजीनामा दिँदै भनेका छन्, ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउनेतर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिक रुपमा मात्र होइन, पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकाले कार्यदलमा रहिरहनुको औचित्य नदेखिँदा स्थायी कमिटीको बैठकमा गरेको घोषणाअनुरुप कार्यदलको संयोजक र सदस्यबाट राजीनामा पेश गरेको छु ।’

    रावलले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै गत कात्तिक १० गतेमै लिखित राजीनामा पेश गरेको बताएका छन् । एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्न १० बुँदे सहमति भएको थियो । १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट सहमति अनुमोदन भएको थियो ।

    अध्यक्ष ओलीले सहमति कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–१२ समेत जारी गरेका थिए । नेता रावलले भने, ‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो । एमालेको सिंगो पंक्ति मात्र होइन, वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ ।’

    २०७८ कात्तिक ५ गते तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति र अपानि १२ कार्यान्वयनका सम्बन्धमा भएको छलफलका क्रममा सहमतिका लागि गरिएका प्रयत्न १० बुँदे सहमतिको अवस्थाबारे यथार्थ चित्रण गर्दै लिखित रुपमा जानकारी गराएको नेता रावलले जनाएका छन् ।

    राजीनामा पत्रमा उल्लेख छ, ‘तत्पश्चात् त्यस विषयमा विचार व्यक्त गर्नु हुने स्थायी कमिटीका सबै नेताहरुले सहमतिको शीघ्र कार्यान्वयन र समस्या समाधानमा जोड दिनुभएको थियो तर सो विषयमा पार्टी अध्यक्षबाट निष्कर्ष प्रस्तुत गर्ने सिलसिलामा स्थायी कमिटीका सदस्यहरुको धारणा र सुझाव तथा विगतका अनेकौं छलफल, सहमति र निर्णयको कार्यान्वयनप्रति सकारात्मक धारणा नराखी १० बुँदे सहमति र अपानि–१२ को औचित्य नरहेको अर्थ लाग्ने अभिव्यक्ति दिनुभएकाले त्यसप्रति मैले विमति जनाएको थिएँ ।’

    पछिल्लो समय एमालेभित्र १० बुँदे कार्यान्वयन नहुँदा पार्टीभित्र विवाद चर्किंदै गएको छ । पार्टीको १० औं महाधिवेशनको पूर्व सन्ध्यामा चर्किएको विवादले नेताहरुका बीचमा दूरी समेत बढाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend