काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ ।
पार्टीमा १० बुँदे सहमति कार्यान्वयन नभएकोमा उपाध्यक्ष रावलले असन्तुष्टि व्यक्त गरेका छन् ।
आज शुक्रवारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष रावलले १० बुँदे कार्यान्वयन नगर्ने भए खारेज गरेको घोषणा गर्न ओलीलाई चुनौती दिएका छन् ।
उपाध्यक्ष रावलले बैठकमा भने, ‘१० बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन र जेठ २ गतेअघिको संगठनात्मक संरचना कायम होस् । यदि १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेज भयो भनेर घोषणा गर्नुस्, सक्नुहुन्छ ?’
यसअघि सम्पन्न स्थायी कमिटी बैठकमा समेत उपाध्यक्ष रावलसहित नेताहरूले १० बुँदे सहमति कार्यान्वयनको कुरा कोट्याएका थिए । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा छलफल हुने भन्दै पन्छाएका थिए ।
तर केन्द्रीय कमिटी बैठकमा समेत ओलीले १० बुँदेको कुरालाई पन्छाइदिएका छन् । भीम रावलको कुरा सुनेपछि ओलीले भने, ‘यो विषय यहाँ एजेन्डा बन्न सक्दैन, स्थायी कमिटीको बैठकबाट टुंगो लगाउला ।’ यसरी अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच बैठकमा ठूलै चर्काचर्की भएको थियो ।
अध्यक्ष ओलीले १० बुँदेलाई स्थायी कमिटी बैठक चल्दा केन्द्रीय कमिटीतिर र केन्द्रीय कमिटी बैठक चल्दा स्थायी कमिटीतिर पन्छाएका छन् ।
यसरी एमालेका केही पदाधिकारीलाई पार्टीमै राख्न सफल भएको त्यो सहमति भत्किएको आशंका गर्न थालिएको छ । उपाध्यक्ष रावलसँगै अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल लगायतले समेत असन्तुष्टि जनाएका छन् ।
बैठकमा केन्द्रीय सदस्य झपट रावलले अन्तरपार्टी निर्देशिका (अपानी)को कार्यान्वयन र १० बुँदेमा इमान्दार हुनुपर्ने बताए । रावलले १० बुँदेबारेको बुझाइमा एकरुपता कार्यान्वयन हुनुपर्नेमा तलतल बेइमानी भएको गुनासो गरेका छन् ।
केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, सुरेन्द्र मानन्धर लगातयले १० बुँदे इमान्दारपूर्वक कार्यान्वयन नभएको बताउँदै असन्तुष्टि जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।