आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले १० बुँदे कार्यान्वयनमा आनाकानी गरेपछि एमालेमा उथलपुथल !

केपी ओलीले १० बुँदे कार्यान्वयनमा आनाकानी गरेपछि एमालेमा उथलपुथल !

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 4.1K
    SHARES

  • केपी ओलीले १० बुँदे कार्यान्वयनमा आनाकानी गरेपछि एमालेमा उथलपुथल !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आईतवार बिहान एमाले शीर्ष नेताहरु जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए ।

    उनीहरु अध्यक्ष ओली निवास पुग्नुको कारण थियो, सुदूरपश्चिम प्रदेश इन्चार्ज सम्बन्धी विवाद निरुपण गर्नू । सो प्रदेशको पार्टी इन्चार्जमा उपाध्यक्ष रावल र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लेखराज भट्ट दुबैको दाबी थियो ।

    उनीहरु दुबैले इन्चार्ज दाबी नछाडेपछि विवाद बढ्दै गएको थियो ।

    २०७५ जेठ २ गतेमा फर्कने १० बुँदे सहमति कार्यान्वयन गर्दा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज रावल नै हो । उनले सोहीअनुसार आफू इन्चार्ज भएको दाबी गर्दै आएका थिए ।

    तर पार्टी विभाजनअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर रुपमा पार्टी गतिविधि सञ्चालन गर्दा नेपाल पक्षमा उभिएपछि अध्यक्ष ओलीले रावलको जिम्मेवारी खोसेर इन्चार्जको जिम्मा भट्टलाई दिएका थिए । भट्ट गत फागुन २३ गतेपछि एमाले सुदूरपश्चिम इन्चार्ज तोकिएका हुन् । त्यसैले उनले पनि इन्चार्जको दाबी नछाडेका हुन् ।

    विवाद निरुपणका लागि भएको छलफलमा सुदूरपश्चिम इन्चार्ज आफैंले पाउने रावलको अपेक्षा थियो । १० बुँदे सहमतिमा तलमाथि हुँदैन भन्ने उनको बुझाइ थियो तर अध्यक्ष ओलीले सुदूरपश्चिम इन्चार्ज भट्ट नै भएको भन्दै मुख खोले र रावललाई उपाध्यक्ष भएर काम गर्न निर्देशन दिए ।

    अध्यक्ष ओलीले अहिलेको पार्टी संरचनामा कुनै फेरबदल नगरिएको बताउँदै १० बुँदेमा अल्झिएर नबस्न समेत निर्देशन दिएका छन् ।

    ‘२०७५ जेठ २ गते जस्ताको त्यस्तै कार्यान्वयन हुन सक्दैन, यसमा प्रष्ट हुनुस् । १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्ने अवस्था छैन,’ छलफलमा ओलीले रावललाई भने, ‘कार्यविभाजन यथावत छ, जिम्मेवारी परिवर्तन भएको छैन । तपाईं उपाध्यक्ष हो, उपाध्यक्ष र १० बुँदे सहमतिको सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’

    सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयनका सन्दर्भमा सहजीकरण गर्न ओलीले रावल, भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी दिएका छन् । केन्द्रीय सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष थापाले आफूसहित ३ जना नेताले सुदूरपश्चिममा सहजीकरणको जिम्मेवारी अध्यक्षबाट पाएको बताएका छन् ।

    ‘सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज लेखराजजी र अध्यक्ष म नै हो । उपाध्यक्ष भएको नाताले उहाँ (रावल) ले समेत गरी ३ जनाले सहजीकरणको जिम्मेवारी पाएका छौं,’ थापाले भने ।

    जेठ २ गतेमा फर्किने सहमति भएपनि यसबीचमा विभिन्न नेताहरुको जिम्मेवारी फेरबदल भइसकेकाले आउने केन्द्रीय कमिटी बैठकले पुनः अर्को जिम्मेवारी बाँडफाँड नगर्दासम्म अहिलेकै जिम्मेवारीअनुसार अगाडि बढ्ने थापाले बताए ।

    सर्वोच्च अदालतले फागुन २३ गतेमा एमाले ब्युँताएपछि पार्टीभित्र विवाद चर्किएको थियो । त्यसपछि असार २७ गतेमा ओली र माधवकुमार नेपाल समूहबाट ५/५ जना नेता सहभागी कार्यदलले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव गर्दै सहमति गरेका थिए ।

    ओली पक्षबाट नेम्वाङ र नेपाल पक्षबाट रावल संयोजक रहेको सो कार्यदलले गरेको प्रस्तावमा पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठन नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने उल्लेख गरेका छन् ।

    तर नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि रावल सहितका नेताहरु ओली पक्षमै फर्किएका छन् । १० बुँदे सहमति कार्यान्वयन गर्ने वाचापछि नेपाललाई साथ दिँदै आएका रावल सहितका नेताहरु एमालेमै फर्किएका थिए । तर अहिले ओली आफैंले त्यो सहमति कार्यान्वयन नगर्दा दोस्रो पुस्ताका नेता जिम्मेवारीविहीन हुनुका साथै अलमलमा परेका छन् ।

    छलफलमा रावलले पार्टी २०७५ जेठ २ गतेमा फर्केपछि आफूले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान ओलीसमक्ष राखेका थिए । ‘पार्टी जेठ २ गतेमा फर्कने भनेपछि त्यहीअनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो,’ रावलले बालकोटमा ओलीको भनाइप्रति असहमति प्रकट गर्दै भनेका थिए ।

    तर ओलीले रावलको भनाइप्रति असहमति जनाउँदै सहजीकरणको मात्रै नेतृत्व लिन निर्देशन दिएपछि केहीबेर विवाद भएको थियो । त्यसपछि रावललाई ओलीले उपाध्यक्ष र सहजीकरणको जिम्मेवारी मात्र निर्वाह गर्न कडा निर्देशन दिएका थिए । त्यसपछि भने रावल चुप बसेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend