काठमाडौं – केही महिनाअघिको घटना ताजै छ, जतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाटै निर्णय गराएर सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्न निर्देशन दिएका थिए ।
तर एमाले उपाध्यक्ष भीम रावलले ‘पावर’ देखाउँदै प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्दै आफूपक्षीय सांसदहरूलाई मन्त्री लगायत पदीय भागबण्डा गराएका थिए ।
सुदूरपश्चिम प्रदेश सरकार र पार्टीका अधिकांश सांसदलाई ‘होल्ड’ गर्नसक्ने पावर भएका उपाध्यक्ष भीम रावलको पकड यतिबेला धुलो–माटो भएको छ ।
उपाध्यक्ष रावल अध्यक्ष ओलीको पक्षमा लागेर नेता माधवकुमार नेपाललाई धोका दिएपछि सुदूरपश्चिमका १० जना प्रदेशसभा सांसद एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ सांसदमध्ये १० सांसदले माधव नेपाललाई साथ दिँदै एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका छन् । विगतमा माधव नेपाल र भीम रावलनिकट रहेका भनिएका १७ मध्ये १० सांसदले समाजवादी पार्टीमा लाग्ने निर्णय गरेका छन् ।
प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीसहित १० जनाले मंगलबार सनाखत गरेका हुन् । मंगलबार सनाखत गर्नेमा प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का, सांसद माया भट्ट, चुनकुमारी चौधरी, मनाकुमारी साउँद लगायत रहेका छन् । एकीकृत समाजवादीमा प्रमुख सचेतक दुर्गाकुमारी कामी, सांसद कुलवीर चौधरी, अमरबहादुर साउँद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी लागेका छन् ।
नेकपा एमाले विभाजित भई भदौ २ गते एकीकृत समाजवादी पार्टी गठन भएको थियो । निर्वाचन आयोगले भदौ ९ गते एकीकृत समाजवादीलाई आधिकारिकता दिँदै प्रदेशसभा र स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई २१ दिनभित्र दल रोज्ने मौका दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।