काठमाडौं – कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाइने भएको छ ।
स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेको र संक्रमितको संख्या बढ्दै जाँदा निषेधाज्ञाको मोडालिटीमा समेत थप कडाइ गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
पराजुलीले आमसर्वसाधारणले महामारीप्रति सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गर्दा संक्रमणको गति उकालो लाग्दै गएकाले अवस्थाको विश्लेषण गर्ने काम भइरहेको बताएका छन् ।
उनले भने, ‘काठमाडौं कोरोना संक्रमण बढ्दो छ, हामीले अनुगमन टोली नै गठन गरेर स्वास्थ्य मापडण्ड पालना भए नभएकोबारे अनुगमन गर्दै आइरहेका छौं, पछिल्लो अवस्थाको समेत विश्लेषण गर्ने काम हुँदैछ, आमसर्वसाधारणलाई जथाभावी भीडभाड नगर्न, मास्कको प्रयोग गर्न र विना काम घरबाहिर ननिस्कन समेत आग्रह गरिरहेका छौं ।’
स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्म काठमाडौंमा ८ हजार ५७९, ललितपुरमा १ हजार ३१९ र भक्तपुरमा १ हजार ९१८ संक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा परीक्षण गरिएकामध्ये २५–३० प्रतिशतलाई संक्रमण पुष्टि हुन थालेको छ ।
सीडीओ पराजुलीले संक्रमणको दर कम हुनेभन्दा बढ्दो गतितर्फ रहेकाले प्रशासनले थप संक्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निर्णय लिने तयारी गरिरहेको बताए ।
‘संक्रमणको आगामी तथ्यांकको विश्लेषण गरेर कस्तो मोडालिटीमा निषेधाज्ञालाई अघि बढाउने भन्ने तय गर्छौं,’ सीडीओ पराजुलीले भनेका छन् ।
हाल काठमाडौं प्रशासनले राति ८ बजेबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । रातिको समयमा भेटघाट बढी हुने भएकाले प्रशासनले यस्तो निर्णय गरेको छ ।
हाल कोरोना संक्रमणको गति बढ्दै जाँदा काठमाडौं उपत्यकाका निजी तथा सरकारी अस्पतालमा कोरोना संक्रमित बिरामी समेत बढ्न थालिसकेका छन् भने संक्रमितको संख्यासँगै मृत्युदर समेत बढ्दै जान थालेको जनाइएको छ ।
यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म कायम गर्ने निर्णय गरेका थिए । काठमाडौं उपत्यकामा बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल दैनिक १० हजार हाराहारीमा कोरोना परीक्षण भइरहेको छ । परीक्षण हेर्दा प्रत्येक ४ जनामा १ जनालाई संक्रमण पुष्टि भइरहेको छ । परीक्षणका क्रममा काठमाडौं उपत्यका लगायत ठूला शहरमा दैनिक २०–२५ प्रतिशतसम्म संक्रमण पुष्टि भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
गृह मन्त्रालयले शुक्रवार मात्रै कोरोना महामारीको तेस्रो लहर आउने सम्भावना रहेको भन्दै ७७ वटै जिल्लामा पहिलो र दोस्रो चरणमा सञ्चालित कोरोना अस्पताललाई पुनः सूचीकरण गर्न सम्वद्ध निकायलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको अनुरोध अनुसार गृह मन्त्रालयले देशभरका बन्द कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताललाई पुनः सूचीकरण एवं सञ्चालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।