काठमाडौं – कोरोना भाइरस संक्रमण र मृत्युदर बढेपछि राजधानी काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग गम्भीर छलफल गर्ने भएका छन् ।
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे मंगलवार बिहान सीसीएमसीसँग छलफल हुने भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले बताएका छन् ।
सीसीएमसीसँगको छलफललगत्तै काठमाडौं उपत्यकाका तीनै सीडीओको बैठक समेत बस्ने तयारी रहेको छ । साउन २७ गतेपछि भीडभाड हुने क्षेत्रलाई कडाइ गर्ने तयारीबारे छलफल भएको सीडीओ पराजुलीले बताएका छन् ।
आईतवार कोरोनाबाट ५५ जनाको मृत्यु भएपछि कडाइ गर्न लागिएको छ, जुन ४६ दिनयताकै सबैभन्दा बढी मृत्यु हो । ‘मास्क लगाउने र सामाजिक दूरी पालना गर्नेबारे अहिलेको अनुगमनलाई कडाइ तुल्याउँदै केही क्षेत्रमा कडाइ गर्ने तयारी भएको छ,’ उनले भने ।
सीसीएमसीले स्मार्ट लकडाउन गर्न यसअघि नै सुझाव दिएको छ । सुझावको आधारमा अघि बढ्ने तयारीमा काठमाडौंका जिल्ला प्रशासन रहेका छन् । जारी निषेधाज्ञा साउन २७ गतेसम्म कायम रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।