काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहभित्र उपाध्यक्ष भीम रावलले जबरजस्त हस्ताक्षेप गर्न थालेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर पार्टी एकताबद्ध गर्ने रणनीतिमा लागेका उपाध्यक्ष रावलले नेता नेपाललाई ट्रयापमा पारेका छन् ।
उपाध्यक्ष रावलको रणनीतिअनुसार आईतबार दिउँसो नेकपा एमाले विवाद समाधानका लागि गठित विघटित कार्यदलको बैठक बसेको थियो ।
नेपाल पक्षको कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष रावलले ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङलाई छेउमै राखेर बैठकमा पार्टी एकतावद्ध हुनुपर्ने अडान राखेका थिए ।
त्यसलगत्तै उपाध्यक्ष रावलकै दबाबमा नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बस्यो । बैठकमा समेत उपाध्यक्ष रावलले सहमतिको खाकाबारे ब्रिफिङ गरेका छन् ।
नेपाल समूहका स्थायी कमिटी सदस्यको बैठक आईतवार साँझ केहीबेर बसेर सकिएको छ । एमालेको विघटित कार्यदलमा रहेका नेपाल समूहका सदस्यहरुले स्थायी समिति बैठक बोलाउन माग गरेपछि नेता नेपालले बैठक बोलाएका हुन्, जसमा उपाध्यक्ष रावलले नेतृत्व लिइरहेका छन् ।
केहीबेर चलेको बैठकमा विघटित कार्यदलका तर्फबाट नेता भीम रावलले १० बुँदे प्रस्तावबारे छलफल गरेका छन् । बैठक चलिरहेका बेला नेता नेपालले अर्को कार्यक्रममा जानुपर्ने बताएकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
कार्यदलका सदस्यहरू पार्टी एक हुनुपर्नेमा एकमत रहेका र नेपाल समूहको बैठकबाट एकतामा जोड दिइने स्रोतले जनाएको छ ।
यसअघि उपाध्यक्ष रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफू ढलेको नभई पार्टी एकतामा फर्किएको स्पष्टीकरण दिएका छन् ।
प्रचण्डले भने पटक–पटक नेपाल निवास कोटेश्वर पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा रहिरहन खबरदारी गर्ने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।