काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता माधवकुमार नेपाल रिसाएका उपाध्यक्ष भीम रावलसँग ‘फाइनल’ कुरा गर्न उनकै निजी निवास टोखा पुगेका छन् ।
उपाध्यक्ष रावल आज बुधवारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएपछि नेपाल घरमै पुगेका छन् ।
आईतवार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि उपाध्यक्ष रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
उपाध्यक्ष रावलले बुझाएको राजीनामापत्र संघीय संसद सचिवालयमा विचाराधीन रहेको छ ।
आज बुधवारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरूले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका छन् । राजीनामा फिर्ताका लागि अरु नेताहरूले कुरा गर्दा नमानेपछि नेपाल नै रावलको निजी निवास टोखा पुगेका जनाइएको छ ।
यसैबीच, नेकपा एमालेमा असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीसँग एकता गरेरै जाने निर्णय गरेको छ ।
नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसदले पार्टी एकता गरेरै जाने निर्णय गरेको छ ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि एमाले विभाजन हुनसक्ने चर्चाबीच नेपाल पक्षले एकतामै जोड दिएको छ ।
नेपाल पक्षको बैठकले १० बुँदे सहमति भइसकेको अवस्थामा अदालतको फैसलाविरुद्ध पार्टी नेतालाई स्पष्टीकरण सोध्ने, नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्ने गतिविधिप्रति खेद जनाउँदै एकताका लागि गम्भीर हुन अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको नेता रजुजी पन्तले जानकारी दिए ।
अर्काेतिर अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठक समेत ३ दिनदेखि चलिरहेको छ । नेपाल पक्षका कार्यदल संयोजक तथा उपाध्यक्ष भीम रावल नेपाल पक्षको बैठकमा सहभागी भएका थिएनन् ।
नेपाल पक्षको बैठकले पार्टी एकतामै जोड दिएपछि अब देउवा सरकारमा जाने सम्भावना टरेको नेपाल पक्षका एक नेताले जानकारी दिए । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले भने नेपाल पक्षलाई सरकारमै आउन जोड दिइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।