काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर फुटको अवस्थामा पुगेका बेला अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गतेकै अवस्थामा फर्किने निर्णय गराएपछि पुरानै पदाधिकारी पुनर्बहाली भएका छन् ।
यसअघि ओलीले एमालेका अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।
अध्यक्ष ओलीले बुधबार महाधिवेशन आयोजक कमिटी भंग गर्दै पुरानै कमिटी पुनर्बहाली गरेका छन् । जसअनुसार ओलीले यसअघि कारवाही गरेका नेता भीम रावल पार्टी उपाध्यक्ष बनेका छन् ।
पार्टीको निर्णय अनुसार अब एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद फर्किएको छ ।
एमालेको उपाध्यक्षमा भीमबहादुर रावल, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यको पद पुनर्बहाली भएको छ ।
उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल, सचिवमा गोकर्णराज विष्ट, प्रदीपकुमार ज्ञवाली, योगेश भट्टराई, भीमप्रसाद आचार्य, पृथ्वीसुब्बा गुरुङको पद पुनर्बहाली भएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान र पार्टीलाई एकता पूर्वकै अवस्थामा फर्काएर ओलीले माधव नेपाल पक्षको माग सम्बोधन गर्दै महाधिवेशन आयोजक कमिटी भंग गरेका छन् ।
महाधिवेशन आयोजक कमिटी भंग भएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल सहितका ११ नेतामाथि यसअघि गरिएको कारवाही समेत स्वतः निष्क्रिय भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
अब नेकपा एमालेको बैठक केन्द्रीय कमिटीका नाममा बैठक बस्ने भएको छ । महाधिवेशन आयोजक कमिटी बैठकका निर्णयलाई आगामी केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
एमालेमा विवाद चर्किएका बेला प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले ८ जनालाई नयाँ नियुक्ति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादी खेमाका ४ र एमाले तर्फका ४ जनालाई स्थायी कमिटी सदस्य पदमा नियुक्ति दिएको हो ।
यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेकपा क्रियाशील रहेको समयमा स्थायी कमिटीमा रहेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटीमा नियुक्त भएका छन् ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई समेत स्थायी कमिटीमा समेटिएको बताएका छन् ।
नेता नेपाल पक्षका भुसाल र पन्तलाई स्थायी कमिटी सदस्य मनोनित गरिएपछि नेपाल पक्षमा खैलाबैला मच्चिएको छ । नेपाल पक्ष ओलीबाट टाढा पुगिसकेको बेला कतिपय नेताहरू पुनः एमालेमै फर्किने चर्चा चलेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।