शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

यी ११ जनालाई नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको खुलासा

यी ११ जनालाई नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको खुलासा

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 5.3K
    SHARES

  • यी ११ जनालाई नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको खुलासा

    काठमाडौं – परराष्ट्र मन्त्रालयले २ वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई १ हप्ताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको खुलासा भएको छ ।

    शुक्रवार मात्रै पुनःनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १ हप्ताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको खुलासा गर्दै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रवार संसद सचिवालयमा पठाइएको बताए ।
    ‘लामो समयदेखि रिक्त रहेका र अरु रिक्त स्थानमा पनि एकमुष्ट रुपमा राजदूत सिफारिस गरेर पठाइएको छ,’ मन्त्री ज्ञवालीले भने ।

    परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिस भएका छन् । सरकारले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेको थियो ।

    तत्कालीन विराटनगर नगरपालिकाका पूर्व मेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्व प्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्व प्रमुख कृष्णचन्द्र शर्मा दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका छन् भने अस्ट्रेलियाको राजदूतमा सुम्निमा तुलाधर प्रस्तावित छन् । उनी वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन् । उनी बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजक समेत रहेकी छन् ।

    रुसका लागि रुसी भाषाका ज्ञाता तथा अनुवाद साहित्यमा नाम बनाएका जंगबहादुर (जंगब) चौहान प्रस्तावित भएका छन्, जंगब काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत रहेका छन् ।

    झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्व मन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिस भएका छन् । प्राध्यापक संग्रौला झापास्थित शहीद रामनाथ बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा विगतमा पद्मकन्या, महेन्द्ररत्न क्याम्पससँग सम्बद्ध राजनीति शास्त्रका प्राध्यापक हुन् ।

    ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित गरिएको छ । नेपाल पाल्पाका पूर्व सांसद हुन् भने सुवेदीको विस्तृत परिचय खुल्न सकेको छैन । नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्ष समेत रहिसकेका मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूतमा प्रस्ताव गरिएको छ ।

    सधैंजसो एउटा राजदूतले गरेको कामकारबाहीको कार्यसम्पादन मूल्यांकनका आधारमा राजदूत नियुक्ति वा पदावधिबारे निर्णय गर्ने भनिए पनि हालसम्म यस्तो प्रबन्ध हुन सकेको छैन । गत हप्ता मात्रै अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई उनको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो भने कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई अर्को निर्णय नहुञ्जेलका लागि कार्यकाल थप गरिएको थियो । यी निर्णयमा पनि राजदूतको कार्यसम्पादन मूल्यांकन हेरिएको थिएन ।

    प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा १ महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्ने भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend