काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने कोसिस गरिरहेका बेला नेकपा एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल र भीम रावल मंगलबार रात परेपछि सुटुक्क बुढानिलकण्ठ पुगेका छन् ।
नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठकमा प्रभावशाली नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले नयाँ सरकार गठनमा कसैको सहयोगी नबन्ने अडान लिएपछि नेता नेपाल देउवानिवास पुगेका छन् ।
नेपाल पक्षका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै एकताका लागि दबाब दिनुपर्ने मत राखेका छन् । जसले गर्दा नेता नेपाल अप्ठ्यारोमा परेका छन् ।
यसअघि नेता नेपाल पक्षका सांसदले राजीनामा दिएर बहुमतको सरकार बनाउन आवश्यक बहुमत पुर्याउने चर्चा चलेपछि कांग्रेस बैठकले नेपाल पक्षसँग सहयोग माग्ने निर्णय समेत गरेको थियो ।
नेता नेपाललाई दह्रिलो साथ दिइरहेका अर्का नेता भीम रावल समेत देउवासँगको सुटुक्क वार्तामा सहभागी रहेका स्रोतले जानकारी दिएको छ । नेता नेपाल, रावल लगायतका नेता सांसद पदबाट राजीनामा गरेर भएपनि ओलीविरुद्ध संसदमा बहुमत पुर्याउन सघाउनुपर्ने पक्षमा रहेका छन् ।
तर कतिपय सांसदहरू राजीनामा दिने, पार्टी फुटाउने र कांग्रेसको सरकार बनाउन सघाउने विषयमा सहमत भएका छैनन् । देउवासँगको यसअघिको भेटमा नेपाल र रावलले आफूहरू ओली सरकार ढाल्न सांसदको राजीनामा गराउन तयार रहेको वचन दिएका थिए ।
राजीनामा दिएपछि हुने उपनिर्वाचनमा कांग्रेस र माओवादीले माधव नेपाल पक्षकै सांसदलाई जिताउने समझदारी बनेको थियो । तर यतिबेला नेपाल पक्षका सांसद राजीनामा नदिने अवस्थामा पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।