काठमाडौं – विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा देखिएका छन् ।
सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेको छ ।
नेकपा माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ । यसैक्रममा आईतवार ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भेटवार्ता गरेका छन् ।
ठाकुरलाई भेट्न आईतबार बिहान पौडेल उनको निवास सानोठिमी पुगेका थिए । नयाँ सरकार निर्माणमा नेपाली कांग्रेस र जसपा एक ठाउँमा उभिनुपर्ने कुरा भेटमा पौडलले बताएका थिए ।
पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको र उनलाई जतिसक्दो चाँडो हटाउनुपर्ने जनाएका थिए । ठाकुर निकट जसपाका नेता डा. सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी गरेको बताए ।
पौडेलले शेरबहादुर देउवाबाहेक अर्को व्यक्तिलाई समेत कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने धारणा राखेको झाले बताएका छन् । ‘कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय पार्टीले गरेको छ तर नयाँ सरकारको नेतृत्व देउवाबाहेक अर्को व्यक्तिले समेत गर्न सक्छ भन्ने धारणा पौडैलजीको रह्यो,’ झाले भनेका छन्, ‘उहाँले अर्को व्यक्ति को हुनसक्छ भन्नेबारेमा भने खुलाउनु भएन ।’
नेता झाका अनुसार भेटवार्तामा जसपासँग छलफल नै नगरी कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णयप्रति ठाकुरले आपत्ति प्रकट गरेका छन् । ‘कांग्रेसले अन्य पार्टीहरुसँग छलफल गरेर मात्र नेतृत्वको विषय टुंग्याउनुपर्नेमा पहिले नै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ,’ उनले भने, ‘यो भनेको अर्घेल्याइँ गरेको जस्तो देखियो ।’
पौडेलसँगको भेटमा ठाकुरले जसपाले उठाउँदै आएका मुद्दा जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने पार्टी नीति रहेको बताए । पछिल्लो समय ठाकुर प्रधानमन्त्री ओलीसँग पनि निरन्तर छलफल र सम्पर्कमा रहेका छन् ।
ठाकुरसँग अहिले ओली, कांग्रेस र माओवादी केन्द्रले सत्ता समीकरणमा साझेदारीको प्रस्ताव गरेका छन् । तर ठाकुर भने ओलीसँग निकट रहेका छन् ।
प्रधानमन्त्री ओलीले जसपाले उठाएका माग पूरा गर्ने आश्वासन दिएकाले ठाकुरले उनीसँग धेरै छलफल जारी राखेको नेता मनिष सुमनले बताएका छन् । ‘सरकारको नेतृत्व गरेको व्यक्तिले नै माग पूरा गर्ने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्रीसँग ठाकुरजीले छलफल जारी राख्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले जसपाका माग पूरा गर्न एउटा कार्यदल पनि गठन गरेका छन् । कार्यदलमा दुबै पक्षका नेताहरुलाई राखिएको छ । जसपाले उठाउँदै आएका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको कार्यदलका सदस्यहरुले जानकारी दिएका छन् । जसपाबाट कार्यदलमा रहेका सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण ठाकुरसँग निकट मानिएका छन् ।
सरकारमा सहभागी भएमा वा बाहिर बसेरै समर्थन गरेमा उसलाई महत्त्वपूर्ण मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएकोे जसपाका नेताहरुले बताए । जसपाले समर्थन गरे उपसभामुखलगायत संवैधानिक आयोगमा भागबण्डा गर्न समेत प्रधानमन्त्री तयार भएको दाबी जसपाका एक नेताले गरेका छन् । प्रतिनिधि सभामा जसपाका ३४ सांसद रहेका छन्, जसमध्ये रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित रहेका छन् ।
सत्ता समीकरणका लागि दुबैतिरबाट प्रस्ताव आएपछि जसपाका शीर्ष मात्र होइन, दोस्रो तहका नेताहरु समेत २ धारमा बाँडिएका छन् । डा. बाबुराम भट्टराई, उपेन्द्र यादव निकट नेताहरु माओवादी केन्द्र र नेपाली कांग्रेससँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा रहेका छन् ।
ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु भने ओलीसँग निकट देखिएका छन् । सत्ता समीकरणका विषयमा दलहरुबीच विभिन्न स्तरमा पटक–पटक भएका वार्ता टुंगोमा पुग्न नसक्दा राजनीतिक अन्योलले निकास पाउन नसकेको देखिएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।