काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर विवाद बढेका बेला संघीय संसद सचिवालयले प्रतिनिधि सभामा नेकपा प्रमुख सचेतक पदमा विशाल भट्टराईलाई मान्यता दिएको छ ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षमा रहेका प्रमुख सचेतक देव गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका थिए । ओलीले प्रचण्ड पक्षका प्रमुख सचेतकलाई कारवाही गरेर आफ्नो पक्षका सांसदलाई नियुक्त गरेपछि मान्यता पाएको छ ।
प्रतिनिधि सभामा कुन पक्षले मान्यता पाउने भनेर चासो रहेका बेला ओली पक्षले जितेको छ । अब ओली पक्षकै प्रमुख सचेतकले नेकपाका प्रचण्ड–नेपाल पक्षका सांसदलाई समेत ह्वीप लगाउन पाउने अधिकार पाएका छन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आईतबार जानकारी दिँदै भट्टराईलाई प्रमुख सचेतकका रुपमा गाडी र कार्यालयको व्यवस्थापन सचिवालयले गरिसकेको निर्णय सुनाएका थिए ।
नेकपाकै प्रचण्ड–नेपाल पक्षले देव गुरुङ नै प्रमुख सचेतक भएको भन्दै सचिवालयमा पत्र पठाएको भएपनि दल विवादको विषय निर्वाचन आयोगले हेर्ने भएकाले संसदले निर्णय नलिने जनाइएको छ ।
नेकपा दल भित्रबाट भएका कारबाही र अन्य पत्राचार सचिवालयले मान्यता दिने/नदिने अधिकार नराख्ने भन्दै संसद सचिवालयले दल विभाजनको विषय निर्वाचन आयोगको विषय भएको स्पष्ट पारेका छन् । प्रचण्ड पक्षले गरेको कारवाहीको विषयलाई संसद सचिवालयले मान्यता नदिने देखिएको छ ।
आज आईतबार बस्ने बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका सांसदहरू समेत प्रधानमन्त्री ओलीसँगै सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् । दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुबै पक्षका सांसदलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रवक्ता पाण्डेले भने, ‘दलका २ वटा पक्षको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ ।’
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयपछि नेकपा २ पक्षमा विभाजित भएको हो । एउटा पक्षको नेतृत्व ओली र अर्को पक्षको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहेका छन् ।
सरकारले पुस ५ गते संसद विघटन गर्ने निर्णय लिएपनि सर्वोच्च अदालतले फागुन ११ गते असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापना हुने फैसला गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।