काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर पार्टीमा संकट उत्पन्न भएका बेला भित्रभित्रै सहमतिका प्रयास समेत भइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षबीच एकअर्कालाई सिध्याउने स्तरमै प्रयासहरू भइराख्दा समेत दोस्रो तहका नेताहरू सहमतिको प्रयासमा जुटेका छन् ।
नेकपा एकता जोगाइराख्न दोस्रो तहका नेताहरु केही दिनयता सक्रिय भएपनि हालसम्म सकारात्मक परिणाम निस्कन सकेको छैन ।
प्रधानमन्त्री ओलीले २ मध्ये कुनै १ पद छाड्न सक्दा राजनीतिक रुपमा विभाजित भएको नेकपालाई एकता कायम राख्न सकिने भन्दै पूर्व एमालेका युवा नेताहरु सक्रिय भएका हुन् । यसमा केही पूर्व माओवादी नेताहरूको समेत साथ छ ।
पार्टी एकता जोगाएर लैजाने अभियानअन्तर्गत प्रधानमन्त्री ओलीले राजीनामा दिँदा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वांङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिएको छ । नेम्वाङ ओली पक्षकै नेता हुन् ।
उपनेता नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा प्रचण्ड–नेपाल पक्ष सकारात्मक देखिएको छैन । प्रचण्ड–नेपाल पक्षले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने गरी संसदीय दलको नेता चयन गरिसकेको छ ।
उपनेता नेम्वाङलाई प्रधानमन्त्री बनाउने विकल्प सँगसँगै अन्य सम्भावित सहमतिको खाकाबारे घनश्याम भुसाल र शंकर पोखरेलबीच एकता प्रयास भइरहेको जनाइएको छ । गएराति समेत भुसाल र पोखरेलबीच छलफल भएको स्रोतले जनाएको छ ।
नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा सहमति नजुटेपछि प्रचण्ड–नेपाल पक्षका युवा नेताहरुले दोस्रो पुस्ताका नेताको विषयमा छलफल गर्न सकिने बताएका छन् । यस्तो प्रस्ताव स्वीकार गर्दै ओली पक्षका नेताहरुले महासचिव विष्णु पौडेललाई अघि सार्ने गरी कुराकानी अघि बढाएको जनाइएको छ । तर जुनसुकै विकल्पमा छलफल गर्दा पनि ओली पक्षले आफ्नै गुटका पात्रलाई अगाडि सार्दा प्रचण्ड–नेपाल पक्ष सशंकित भएको छ ।
ओलीका विश्वास पात्र शंकर पोखरेल र घनश्याम भुसालबीच एकताका लागि पटक–पटक कुराकानी भएपनि ठोस सहमति हुन सकेको छैन ।
नेकपाका सांसदहरूले पार्टी भित्रबाट सरकारको नेतृत्वको विकल्प दिएर एकता जोगाउनुपर्ने भन्दै लबिङ गरिरहँदा दोस्रो पुस्तामा पार्टी नेतृत्व र प्रधानमन्त्रीको पद ल्याउनेबारे समेत छलफल चलेको छ । सांसदहरु कृष्णप्रसाद दाहाल, गणेश पहाडी, यज्ञराज सुनुवार, भूमि त्रिपाठी, दीपक कार्की, पदम गिरी, ध्रुवबहादुर शाही, झपट रावल लगायतले घनश्याम भुसाल र शंकर पोखरेलसँग दोस्रो पुस्तामा नेतृत्व ल्याउनेबारे छलफल गरेका छन् ।
सांसदहरुले उपनेता सुवासचन्द्र नेम्वाङलाई समेत भूमिका खेल्न आग्रह गरेका छन् । तर नेम्वाङको नाममा बालुवाटारभित्रै सहमति हुनसक्ने सम्भावना नरहेको समेत स्रोतले जनाएको छ । त्यसैकारण नेम्वाङ स्वयं सक्रिय भएका छैनन् । उनको नामलाई प्रचण्ड–नेपाल पक्षले समेत अस्वीकार गरेको छ ।
महासचिवलाई कार्यकारी दिएर अन्य सचिवालयको संयुक्त बडी बनाएर जाने विषयमा छलफल गर्न सकिने संकेत प्रचण्ड–नेपाल पक्षले गरेको स्रोतले जनाएको छ । तर शक्ति बाँडफाँडमा प्रचण्ड–नेपाल पक्षका नेताहरूलाई समेत महत्त्वपूर्ण जिम्मेवारी दिन प्रस्ताव गरिएको छ ।
महासचिवलाई कार्यकारी अधिकार दिँदै पार्टीका शीर्ष नेताहरुलाई अध्यक्ष मण्डलमा राख्न सकिने र सचिवालय विस्तार गर्ने विषयमा छलफल अघि बढाएर एकता कायम राख्नेबारे योगेश भट्टराईले समेत प्रस्ताव गरेको भए पनि सहमति भने हुन सकेको छैन ।
आज आईतबार प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकअघि नेकपाभित्र सहमति हुन नसके प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनसक्ने चर्चा समेत छ । तर अविश्वास प्रस्तावमा भाबी प्रधानमन्त्री कसलाई प्रस्ताव गर्ने, कुन–कुन पार्टीको सहमति रहने भन्ने स्पष्ट भइसकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।