काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस समर्थक लोकतान्त्रिक व्यवसायीको प्यानलले बहुमतका साथ सानदार जीत हात पारेको छ ।
गत आईतवार भएको वाणिज्य संघको निर्वाचनको अन्तिम मतपरिणाम सोमवार राति सार्वजनिक भएको छ ।
संघको ३ वर्षे कार्यकालका लागि १० जना पदाधिकारीमा ८ जना, ७ जना सदस्यमा ५ जना तथा २ महिला सदस्यमा १ जना कांग्रेस निकट लोकतान्त्रिक प्यानलका उम्मेदवारले जितेका छन् ।
संघको चुनावमा नेकपाका ओली र प्रचण्ड दुबै पक्ष तथा राप्रपाले संयुक्त प्यानल बनाएर चुनाव लडेको थिए । कांग्रेससँग संयुक्त प्यानल बनाएर लड्दा समेत नेकपाले लज्जास्पद हार व्यहोरेको छ । नेकपा नेतृत्वको संयुक्त प्यानलले पदाधिकारीमा २, सदस्यमा २ र १ महिला सदस्यमा मात्र जीत हात पारेको छ ।
निर्वाचनमा लोकतान्त्रिक प्यानलका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जिव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे ‘राजु’, उद्योग सचिवमा कुशल खतिवडा, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्ष महिलामा राधिका चुडाल हुमागाई विजयी भएका छन् ।
पदाधिकारीतर्फ नेकपा र राप्रपाको संयुक्त व्यवसायी प्यानलबाट अर्जुनकुमार मैनाली महासचिवमा र कृष्ण पौडेल वाणिज्य सचिवमा निर्वाचित भएका हुन् । संघको जनसम्पर्क उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका नैनकला भट्टराई निर्विरोध निर्वाचित भएकी थिइन् ।
सदस्यतर्फ लोकतान्त्रिक प्यानलबाट विशाल थापा, दिपक मित्तल, पुकार बराल, जीवनकुमार खड्का र महिला सदस्यमा तुलसा खनाल ढकाल विजयी भएका छन् । संयुक्त प्यानलबाट गौरीशंकर गुप्ता ‘टिंकु’, गुन्जन प्रसाई र महिला सदस्यमा रुचि सिवाकोटी निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ ।
संघको आईतवारको मतदानमा ३ हजार ८५८ मत खसेको थियो । संघमा कूल मतदाता ४ हजार ५५० रहेका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।