काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्केर विभाजन भइसकेको अवस्थामा फेरि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकठाउँमा आउनुपर्ने भएको छ ।
प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते आह्वान भएको बेला दुवै अध्यक्षको संसदीय दल एउटै भएकाले दुवैले एकैठाउँमा आउनुपर्ने भएको हो ।
त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई निम्तो समेत दिएका छन् । सोमबार पोखरामा आयोजित नेकपा ओली पक्षको कार्यक्रममा ओलीले प्रचण्डलाई भने, ‘विधिवत भेटौं, बैठक बोलाइदिन्छु आउनुस् न !’
प्रचण्डले विधि र पद्धति अनुसार आफूलाई हटाउन सके आफू प्रतिपक्षमा बस्न तयार रहेको समेत ओलीले बताएका छन् । ‘डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुईतिहाइ ल्याउँछौं,’ ओलीले भने ।
प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने बताउँदै ओलीले विधि र प्रक्रियाबाट आउन प्रचण्डलाई आग्रह गरेका छन् । ‘अविश्वास प्रस्ताव राखेर हटाउने होइन, गलहत्याएर । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया कस्तो छ ? प्रजातान्त्रिक प्रक्रिया कस्तो छ ?’ उनले भने ।
ओलीले प्रचण्ड–नेपाल पक्षसँग भएको बहुमत समेत आफूले दिएको दाबी गरेका छन् । आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रूपमा प्रयोग गरेको उनले आरोप लगाए ।
‘त्यो बहुमत त मैले नै दिएको हो । एकताका लागि भनेर, महाधिवेशनबाट छानिएको हो र ? चुनाव जितेर आएको कमिटी हो र ? पार्टी एकता र देश बनाउनका लागि दिएको हो,’ ओलीले भने, ‘नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ, मैले अस्तिको दिनमा संसदीय दलको मुख्य सचेतकबाट देवप्रसाद गुरुङलाई हटाइदिएँ, मैले बनाएको हो मैले हटाइदिएँ, मैले गर्ने हो ।’
प्रचण्ड–नेपाल पक्षले बहुमत दाबी गरे पनि पुष्टि नभएको ओलीले बताए । ‘त्यो बहुमत कहाँ पुष्टि भयो ? त्यो पुष्टि भएको छैन । कार्की ब्यांकेटमा भोज खान बोलाएर भोज खान आएकाहरूलाई मतिर यति मान्छे छन् भनेर हुन्छ ? अध्यक्षले बोलाएको बैठकमा, महासचिवले बोलाएको बैठकमा आउनुस् न,’ ओलीले निम्तो दिँदै भने ।
संसद विघटनपछि देशले निर्वाचनको बाटो लिए पनि सर्वोच्च अदालतको फैसलाले फेरि देश अप्ठ्यारोमा परेको दाबी गरे । ‘चुनावको गतिमा गइसकेको थियो, देश फेरि अन्योल अलमलमै फस्यो,’ ओलीले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।