काठमाडौं – सिंहदरबारलाई सरकारको प्रमुख प्रशासनिक क्षेत्र मानिन्छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका कार्यालय र प्रशासनिक नेतृत्व सिंहदरबारमै छन् ।
तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला ओली विरुद्धको ‘प्लान’ बनाउने बैठक समेत सिंहदरबारमै हुन थालेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना हुनुअघिसम्म पार्टी कार्यालय पेरिसडाँडामा बैठक गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्ष अब सिंहदरबारभित्र घुसेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनापछिको रणनीति र ओलीलाई सत्ताच्युत गर्ने योजनाबारे छलफल गर्न सोमबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ ।
बैठक सोमबार बिहान ८ बजेबाट सिंहदरबारस्थित संसद सचिवालयको भवनमा बसिरहेको छ । बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
फागुन २३ गतेदेखि बस्ने संसदमा प्रस्तुत हुने रणनीतिबारे अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताबीच छलफल भइरहेको छ ।
सोमबारै बिहान बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अपराह्न ४ बजे संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस समेत गरेको छ ।
नेकपा प्रचण्ड–नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको सामना गर्न तयार रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।