काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदीय दलको नेता र पार्टी अध्यक्षबाट कारवाही गरिसकेको छ । तर ओलीमाथिको कारवाहीले निर्वाचन आयोगबाट वैधानिकता पाएको छैन ।
निर्वाचन आयोगबाट आधिकारिकता नपाएसम्म ओली नै नेकपा संसदीय दलको नेता रहेका छन् । उनले प्रमुख सचेतकबाट प्रचण्ड पक्षीय देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
नवनियुक्त प्रमुख सचेतक विशाल भट्टराईले संसदभित्र आएका प्रस्तावमा पार्टीले ह्वीप जारी गर्ने र ह्वीप पालन नगर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । तर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भीम रावलले ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने दाबी गरेका छन् ।
ह्वीप नमान्ने समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झुट र भ्रमपूर्ण रहेको नेता रावलले बताए । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले लगाएको ह्वीप मान्नु नपर्ने समेत उनले बताए ।
ह्वीप नमान्ने सांसदलाई निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफ्नो पक्षको बहुमत रहेको नेता रावलले बताए । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने तयारी रहेको समेत नेता रावलले बताए ।
पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको रावलले बताए । निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने नेता रावलले बताए ।
नेकपाको विधान, नेकपा संसदीय दलको विधान, नेपालको कानून र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री ओलीको कदम अनैतिक र असंवैधानिक रहेको बताउँदै नेता रावलले ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।