आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

केपी ओलीलाई बालुवाटारबाट लखेट्ने प्रचण्डको योजना, बामदेव गौतमको साथ !

केपी ओलीलाई बालुवाटारबाट लखेट्ने प्रचण्डको योजना, बामदेव गौतमको साथ !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १३ २०७७

  • 5.2K
    SHARES

  • केपी ओलीलाई बालुवाटारबाट लखेट्ने प्रचण्डको योजना, बामदेव गौतमको साथ !

    काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा संसद पुनःस्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् ।

    प्रचण्ड–नेपाल पक्षले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको छ भने ओली पक्षले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै संसदमा नै सामना गरेर अघि बढ्ने योजना बनाएको छ ।

    पुस ५ गते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय मंगलवार सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वसम्मत बदर गरेको थियो । अदालतले फैसलाको मितिले १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश समेत दिएको छ ।

    प्रतिनिधिसभा विघटन गरिएपछि सत्तारुढ नेकपा २ पक्षमा विभाजित भएको थियो । ओली पक्षले विघटनको पक्षमा विभिन्न कार्यक्रम गर्दै आएको थियो भने पुनःस्थापनाको माग गर्दे नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले निरन्तर सडक आन्दोलन गरिरहेको थियो ।

    प्रतिनिधिसभा पुनःस्थापना भएपछि बुधवार काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल र नेकपा ओली समूहको छुट्टाछुट्टै स्थायी कमिटी बैठक बसेको छ । दुबै समूहले आगामी रणनीतिबारे छलफल गरेका छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले हालको विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ ।

    नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण गर्न लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय बैठकले गरेको बताएका छन् ।

    संसद बैठकबाट संविधानअनुसार सरकार गठन र अविश्वास प्रस्तावको प्रक्रिया अघि बढाउने उनले बताएका छन् । प्रधानमन्त्री ओलीविरुद्ध यसअघि दर्ता गरिएको अविश्वास प्रस्तावमा प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिए पनि आश्वयक परे नयाँ ढंगले अगाडि बढ्ने श्रेष्ठले बताएका छन् । प्रधानमन्त्री ओलीले आत्मालोचना सहितको रुपान्तरणको योजना नदिएसम्म उनीसँग एकता हुन नसक्ने श्रेष्ठले स्पष्ट गरे ।

    ‘ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर गल्ती स्वीकार्दै विधि–पद्धतिका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेमा एकता हुनसक्छ । अन्यथा एकताका कुरा भ्रम हुन्,’ श्रेष्ठले भने ।

    बैठकले ओलीको भ्रममा परेर फुटवादी गुटमा लागेका नेकपाका नेताहरुलाई आफ्नो पदमा फर्केर जिम्मेवारीमा निर्वाह गर्न आह्वान गरेको छ । बैठकले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ ।

    ‘सर्वोच्च अदालतबाट संविधान र लोकतन्त्रको रक्षा भएको छ । प्रतिगामीको ठूलो चक्रब्यूह र राजनीतिक संकटको सुरुङमा लैजाने खतराबाट देशलाई बचाएको छ,’ श्रेष्ठले भने, ‘अदालतको निर्णयलाई पार्टी स्थायी कमिटीले उच्च मूल्यांकन गरेको छ ।’

    बैठकले असंवैधानिक कदम विरुद्धको आन्दोलनमा सक्रिय राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र जनतालाई आभार व्यक्त गर्दै यस्ता गतिविधिविरुद्ध सचेत रहन समेत आग्रह गरेको छ ।

    नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक समेत बुधवार बसेको छ । प्रतिनिधिसभा पुनःस्थापना पश्चात् अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै सहमति र सहकार्यकै आधारमा अगाडि बढ्ने निष्कर्ष बैठकको रहेको छ ।

    नेकपा ओली पक्षको बुधवार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    नेकपा स्थायी कमिटीका सदस्य एवं प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले गरेको निर्णयमाथि आशंका भए पनि संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएकाले सोहीअनुसार अघि बढ्ने निर्णय बैठकले गरेको बताएका छन् ।

    बैठकले मुलुकमा राजनीतिक अस्थिरताको शृंखला सुरू नहोस् भन्नका लागि पनि पार्टीका तर्फबाट आवश्यक पहलकदमी लिने निर्णय गरिएको ज्ञवालीले बताएका छन् ।

    ‘प्रधानमन्त्री मुलुकलाई अन्योलमा राख्नु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ । आजको निर्णयले भोलिका दिनमा के असर गर्न सक्छ भन्ने उहाँले बुझ्नुहुन्छ,’ ज्ञवालीले भने । यसकारण पार्टी एकतालाई ध्यानमा राखेर २ पक्षबीच गम्भीर मतभिन्नता भएको स्वीकार्दै उनले अझै पनि एकता प्रयास जारी रहेको बताएका छन् ।

    पार्टी एकताबद्ध रहने सन्देश जाने गरी कसैलाई पनि कारवाही नगरिएको बताउँदै उनले प्रधानमन्त्रीको राजीनामाबारे पनि छलफल भएको बताए । ‘मुलुकलाई राजनीतिक निकास दिनुपर्छ भन्ने नै हाम्रो भनाइ हो । यसपछाडिको परिदृश्य के भन्ने स्पष्टता भएपछि परामर्श गरेर छलफलपछि संस्थागत निर्णय गरि नयाँ ढंगले अघि बढ्छौं,’ ज्ञवालीले भने ।

    बैठकमा मंगलवार सर्वोच्च अदालतले फैसला भएपछि दुईतिर विभाजित माहोल, पछिल्लो घटनाक्रमका असर र प्रभाव, राजीनामा, अबको राजनीति कसरी अघि बढ्ने, सर्वोच्चको निर्णयको प्रभाव र कार्यान्वयनको विषय, सो फैसलालाई मान्नुपर्छ भन्ने मत, केन्द्रीय कमिटी बैठक बोलाउने विषय, पूर्वघोषित शक्ति प्रदर्शनका कार्यक्रम परिमार्जन गरेर मात्रै गरिने, संसदको अधिवेशन निर्धारित समयमा गराउने, त्यसपछिको माहौल कसरी अघि बढ्छ भन्ने चासो लगायतका विषयमा छलफल भएको ज्ञवालीले बताएका छन् ।

    सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुसँग व्यापक छलफल गरेका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामा माग गरे पनि उनी तत्काल राजीनामा नदिने अडानमा छन् । प्रधानमन्त्री ओलीका सल्लाहकारहरुले तत्काल राजीनामा नदिने बताउँदै आएका छन् । थप छलफलका लागि नेकपा ओली पक्षले बिहीवार समेत स्थायी कमिटी बैठक बोलाएको छ ।

    नेकपा उपाध्यक्ष बामदेव गौतमले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ,’ उपाध्यक्ष गौतमले भनेका छन्, ‘नेकपाको उपाध्यक्षको हैसियतले म दुबै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’

    प्रतिनिधिसभा विघटनपश्चात् २ पक्षमा विभाजित नेकपाको कुनै पनि समूहमा नलागेका गौतमले पार्टी एकता जोगाउन अभियान सुरू गरेका थिए । पार्टी एकताको अभियानमा लागेका गौतमले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गर्दै आएका थिए ।

    बुधवार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन बोलाउनुपर्ने सुझाव समेत दिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend