काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै पक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टाछुट्टै रणनीति बनाउन जुटेका छन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज बुधबार अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाएका छन् ।
संसद पुनःस्थापना भएपछि बैठकले आगामी रणनीतिबारे निर्णय लिने स्रोतले जनाएको छ । यसअघि संसद विघटन भएपछि बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चुनेको थियो ।
संसद भवनमा आज अपराह्न ४ बजेका लागि सांसदहरूलाई बोलाइएको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बताएका छन् ।
यस्तै, प्रतिनिधिसभा पुनःस्थापना पछिको रणनीतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको छ ।
प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा आगामी रणनीतिबारे छलफल हुने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए । बैठक बिहान ११ बजे बालुवाटारमा बस्नेछ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई मंगलबार बदर गरिदिएको छ । प्रचण्डले नैतिकताको आधारमा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ओलीले राजीनामा नदिने र बरु संसदको सामना गर्ने जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।