काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बनाएका जिल्ला अध्यक्ष नै प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठूलो धक्का लागेको छ ।
प्रचण्ड–नेपाल पक्षले डोल्पा जिल्ला अध्यक्ष बनाएका दत्तबहादुर रोकायाले आफू केपी ओली पक्षमा रहेको बताउँदै प्रचण्ड पक्षको अध्यक्ष पद लिन अस्वीकार गरेका छन् ।
रोकायाले आफूलाई जानकारी नै नदिई, एक वचन नसोधेरै अध्यक्ष बनाइएको जनाउँदै समाचारबाट अध्यक्ष बनाएको थाहा पाएको बताए । रोकायाले आपत्ति जनाउँदै आफू ओली समूहको चुनावी अभियानमा रहेको समेत स्पष्ट पारेका छन् ।
रोकायाले प्रेस विज्ञप्ति जारी गरी आफ्नो नाम अर्को समूहको अध्यक्षमा राखिएकोमा असहमति व्यक्त गरेका छन् ।
यसअघि प्रचण्ड–नेपाल पक्षका नेता हिमाल शर्माले काठमाडौं जिल्ला कमिटीको सचिवको जिम्मेवारी लिन समेत अस्वीकार गरेका छन् । शर्माले पार्टी मिलाउँदा आफू सचिव पदमा भएको तर अहिलेको परिस्थिति फरक भएको भन्दै सचिवको जिम्मेवारी अस्वीकार गरेका हुन् ।
शर्मा तत्कालीन माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटी अध्यक्ष रहेका थिए । पार्टी एकतापछि शर्माले सचिवको जिम्मेवारी सम्हालिरहेका थिए ।
यस्तै, भोजपुरका जिल्ला सचिव विमल खड्काले समेत सचिव पदमा बस्न अस्वीकार गरेका छन् । खड्काले अध्यक्ष नपाएपछि सचिव पद अस्वीकार गरेका जनाइएको छ ।
नेकपा प्रचण्ड–नेपाल पक्षले साविक एमालेका शरणकुमार राईलाई अध्यक्ष बनाएर खड्कालाई सचिवमै कायम राखेको छ । खड्काले फेसबुकमार्फत आफू सचिवमा नरहने भन्दै अर्को व्यक्ति सचिव बन्ने जनाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।